हेटौंडाको मुख्य बजारमा सुबिधा सम्पन्न बहुउदेसीय कबर्डहल, दश प्रकारका खेल खेलाउन सहज

जनपत्र
९ चैत्र २०७८, बुधबार ०९:०४

हेटौंडा । कंक्रिटले बनेका सिमेन्टका घरै घर । वरपर, क्याम्पस, बिद्यालय, घर, पसलको बाक्लो वस्ति । त्यसको बिचमा सुबिधा सम्पन्न कबर्ड हल । कबर्डहल भित्र कराते खेल्नमा बेस्त छन् खेलाडीहरु । एउटा घरभित्रको हलभित्र प्याराफिटमा आनन्दले बसेर खेल हेर्ने दर्शकहरुको पनि निकै घुइचो छ । खेलाडी र खेलप्रेमीहरुको पनि भिड छ । भित्र खेल भइरहेपनि बाहिर भने सुनसान जस्तै छ । कोही पसलमा व्यापार गर्न व्यस्त छन् त कोही नजिकैको क्याम्पसमा आनन्दले पढिरहेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ पारिजातपथमा निर्माण भएको सुबिधा सम्पन्न बहुउदेसीय कबर्डहलमा पुग्दा यस्तै दृस्य देखिन्छ । यहाँ दिनहुँजसो खेलकुदका कार्यक्रम हुँदै आएका छन् । खेलप्रेमीहरु प्नि निकै खुसी समेत भएका छन् । धेरै प्रकारका भित्र खेलीने खेलकुदको मज्जा एकै स्थानमा लिन पाएकोमा हेटौंडाका खेलाडीहरु निकै हर्सित समेत भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाले वर्षेनी लगानी गरेर पारिजातपथमा बहुउदेसीय कबर्डहल निर्माण गरेको हो । कुल २ करोड ३० लाख रुपैयाँ लागतमा कबर्डहल, सौचालय, महिलाका लागि छुट्टै जिमक्लब निर्माण गरेको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो ।

बहुउदेसीय कबर्डहल निर्माणको काम सकिएको छ भने महिलाहरुका लागि भने जिम गर्नका लागि अहिले नयाँ बनिरहेको जिम क्लब समेत माथील्लो तलामा खेलाउने तयारी रहेको मेयर महतले बताउनुभयो । छुट्टा छुट्टै उपभोक्ता समिति मार्फत काम भइरहेको छ । अहिले बनिरहेको नयाँ भवनमा बाहिरी जिल्ला टाढाबाट खेलाडी आएमा बस्नका लागि कोठा समेत निर्माणको काम भइरहेको छ ।

यस कबर्डहल भित्र तेकन्दो, बक्सिङ, कराते, उसु, कबड्डी, जुडो, ब्याडमिन्टन, टेबलटेनिस लगायतका खेल खेलाउन सकिने मेयर महतले बताउनुभयो । खेल खेलाउन मात्र होइन दर्शकलाई हेर्नका लागि पनि सुबिधा सम्पन्न प्याराफिट निर्माण गरिएको छ । प्याराफिटमा बसेर सजिलैसंग खेल हेर्न पाएपछी खेलप्रेमी युवाहरु औधी खुसी भएको उहाँले बताउनुभयो ।

कबर्डहल पहिले नहुँदा बन्द कोठामा गर्नुपर्ने एक दर्जन खेलहरु बाहिर चौरमा गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै खेलप्रेमी युवा तथा कबर्डहल निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र ढकाल भन्नुहुन्छ–‘पहिले इन्डोरगेमहरु गर्नुपर्दा धेरै समस्या बेहोयौं तर अहिले निकै सहज समेत भएको छ । धेरै खेलहश्र अहिले यही हलभित्र हुने गरेको छ । दर्शकहरु पनि सहज रुपमा प्याराफिटमा बसेर खेल हेर्न पाएका छन् ।’

कबर्डहलमा दुइतिर गरेर एकै पटक पाँच सय दर्शक प्याराफिटमा बसेर खेल हेर्न सक्नेछन् । बक्सिङ र करातेका खेलाडीका लागि यही हलमा तालिम समेत दिइसकेको छ । १३ औं दक्षिण एसीयाली खेलकुदमा सहभागि हुने खेलाडीका लागि बन्द प्रशिक्षण समेत गरिएको ढकालले जानकारी दिनुभयो । यस हलमा एका बिहानै जिम गर्न आउनेहरु पनि त्यतीकै छन् । यही प्रकारको कबर्डहल मकवानपुर जिल्लामा मात्र नभइ देशका धेरै जिल्लामा छैन । हेटौंडा उपमहानगरपालिकाको पूर्ण लगानीमा निर्माण भएको यस कबर्डहल निर्माण भएपछी खेलकुदमा रमाउनेहरु खुसी समेत भएको बताउँछन् ।

हेटौंडाका वडा–वडामा खेल मैदान निर्माण

हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा साना तथा ठुला खेल मैदान निर्माण भएका छन् । जनप्रतिनिधिहरु आएपछी पाँच वर्षको अवधिमा खेलमैदानहरु निर्माण भएका हुन् । हेटौंडाका बिभीन्न वडामा फुटबल खेल्नका लागि चौर, प्याराफिट निर्माण, जिमक्लबहरु, भलिबल खेल्नका लागि चौर निर्माण, खेलमैदान भएका क्षेत्रमा थप सुधार लगायतका कामहरु भएको मेयर हरि बहादुर महतले बताउनुभयो ।

खेल मैदान निर्माण भएपछी स्थानीय खेलप्रेमी युवाहरु खुसी समेत भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ १९ मा साना ठुला खेल मैदानहरु निर्माण भएको उहाँले बताउनुभयो । कुनै वडामा नयाँ खेल मैदान त कुनै वडामा पहिले भएका खेल मैदानलाई सुधार गर्नका लागि बजेट विनियोजन गरेर काम गरिएको उहाँले बताउनुभयो ।

यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ नागस्वतीमा खेल मैदानको निर्माणको काम भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गर्न लागिएको हो । हेटौंडाका हरेक वडामा खेल मैदान निर्माण गर्ने अभियान अनुसार नागस्वतीमा पनि खेलमैदान निर्माण गर्न लागिएको बताउनुभयो । नागस्वतीमा २५ लाख लागतमा खेलमैदान निर्माण गर्न लागिएको हो । आउँदो जेठ महिना सम्ममा खेल मैदान निर्माणको काम सक्ने लक्ष राखिएको छ ।

हेटौंडा मेयरकप मेयर कपले खेलाडी उत्पादनमा सहज

हेटौंडा उपमहानगरपालिकाले विगततीन वर्ष अगाडी देखि मेयरकप फुटबल प्रतियोगिता गर्दै आएको छ । यसले हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा खेलाडी उत्पादनमा सहयोग पुगेको वडा अध्यक्षहरु वताउँछन् । मेयरकप फुटबलमा प्रत्यक वडाबाट खेलाडी आउने र प्रतिस्पर्धा गर्नका लागि तयारी पनि गर्ने भएकाले यसबाट खेलाडी उत्पादनमा सहयोग पुगेको हो । हरेक वर्ष हुने मेयरकप फुटबल प्रतियोगिताले आफ्नो वडालाई जिताउनका लागि जनप्रतिनिधिदेखि आम युवाहरु समेत लाग्ने गरेका छन् । स्थानीय स्तरबाट खेलाडी उत्पादनमा थप सहयोग पुगेको उनीहरु बताउँछन् ।

हेटौंडा–८ मा प्याराफिट निर्माण हुँदै

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमानेको चन्द्रोदको माध्यमिक बिद्यालयको चौरमा प्याराफिट निर्माणको काम भइरहेको छ । यस क्षेत्र आसपास र हेटौंडामा खेलकुदका कार्यक्रमको आयोजना गर्दा सहज हुनेगरी यहाँ प्याराफिट निर्माणको काम भइरहेको वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको लगानीमा कमानेमा प्याराफिट निर्माणको काम गरिएको हो । उपमहानगरपालिकाको दुइ करोड रुपैया लगानीमा प्याराफिट निर्माण भइरहेको छ । यसले गर्दा खेल खेल्ने र हेर्ने दर्शकका लागि पनि सहज हुने उहाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*