हेटौंडाका किसानलाई अनुदानै अनुदान, खेती गर्न र पशुपालनमा सहयोग पाएपछी किसान खुसी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियामा रहेको साना किसान सहकारी संस्थालाई हेटौंडा उपमहानगरपालिकाले खेत, बारी जोत्नका लागि एउटा ठुलो ट्याक्टर गत आर्थिक वर्षमा हस्तान्तरण गर्यो । ट्याक्टर पाएपछी यहाँका किसानले खेतबारी जोत्नका लागि निकै सजिलो भएको बताउँछन् ।
सस्तोदरमा ट्याक्टर मार्फत खेत, बारी जोत्ने काम गर्न पाएपछी बर्षभरी गोरु पलेर परमपरागत खेती गर्नुपर्ने बाध्यता पनि हटेको किसानहरु बताउँछन् । स्थानीय सरकारले ५० प्रतिशत अनुदान रकममा ट्याक्टर दिएपछी खेतीगर्ने गाउँका किसानका लागि निकै सजिलो भएको सहकारीका अध्यक्ष कमला श्रेष्ठ बताउनुहुन्छ ।

यसैगरी चालु आर्थिक वर्षमा हेटौंडा–१३ पदमपोखरीमा त्रिबेणी कृषि सहकारी संस्थालाई प्रबिधियुक्त फलफूल नर्सरी टनेल निर्माणका लागि उपमहानगरपालिकाले ७ लाख रुपैयाँ उपलब्ध गराउनेगरी संझौता गरेको छ । प्रबिधियुक्त टनेल निर्माण गरेपछी सहकारीमा आवद्ध किसानहरुले सामुहिक खेतीगर्नका लागि निकै उत्साहित समेत भएका छन् ।
हटिया र पदमपोखरीका किसान मात्र होइन । हेटौंडा उपमहानगरपालिकाले पाँच वर्षको अवधिमा हेटौंडाका किसानहरुका लागि बिभीन्न खालका अनुदान कार्यक्रम मार्फत सहयोग गरेको छ । बिशेषगरी हेटौंडा उपमहानगरपालिकामा पछी थपीएका वडाहरुमा रहेका किसानका लागि अनुदानका कार्यक्रमले निरन्तर रुपमा सहयोग गरेकोमा किसानहरु पनि उत्तिकै खुसी छन् ।
अनुदानका कार्यक्रमले बिदेशबाट फर्किएका युवाहरुलाई खेती गर्नका लागि उत्साहीत भएको र यहाँनै खेती गरेर पनि आमदानी गर्नका लागि स्थानीय सरकारले सहयोग गरेको मेयर हरि बहादुर महत बताउनुहुन्छ । पाँच वर्ष सम्म हेटौंडाका किासनलाई उन्नतजातका तरकारीका विउ बितरण, कृषि चुन बितरण, कृषि फार्म प्रवर्दन कार्यक्रम, पुष्प खेती प्रवर्दन कार्यक्रम, फलफुलका विरुवा बितरण, प्लाष्टिकका टनेल निर्माण, व्यावसायीक खेती कार्यक्रम, कृषि बजार पूर्वाधार कार्यक्रममा सहयोग गरिएको मेयर महतले बताउनुभयो ।
यसैगरी कृषि सामाग्री ढुवानी कार्यक्रम, कृषि इन्जिनियरिङ प्रबर्दन कार्यक्रम, खाल्डो खन्ने मेसीन अनुदानका कार्यक्रम, कृषि सिंचाइ कार्यक्रम, कृषि उपज संकलन तथा बिक्री गर्नका लागि सहयोग कार्यक्रम, टनेल हाउस खेती कार्यक्रम, स्थानीय स्तरमा मिनी डिजीटल माटो ल्याब स्थापना गर्ने कार्यक्रम, बहुउदेसीय नर्सरी स्थापना गर्ने कार्यक्रम, माटो जाँच शिबिर कार्यक्रममा सहयोग गरिएको छ ।
पशुपन्छी पालनमा उपमहानगरपालिकाको यस्ता छन् अनुदानका कार्यक्रम
हेटौंडा उपमहानगरपालिकाले पाँच वर्षको अवधिमा खेती गर्ने किसानसंगै पशुपालनका क्षेत्रमा काम गर्ने किसानका लागि पनि सहयोगका कार्यक्रम ल्याएको छ । पाँच वर्षको अवधिमा पशुपन्छी पालन किसानका लागि अनुदानका कार्यक्रमबाट थप सहयोग गरिएको मेयर हरि बहादुर महत बताउनुहुन्छ । किसानले पालेका पशुपन्छीका लागि आकस्मिक तथा संक्रमण रोग नियन्त्रणका कार्यक्रम गरेको छ ।

आन्तरिक तथा परजिवी रोग नियन्त्रण कार्यक्रम, एकल महिला, गरिब, असहाय पशुपालन प्रोत्साहन कार्यक्रम, बिभीन्न प्रकारका खोप लगाउने कार्यक्रम, ग्रामिण कुखुरा प्रबर्दन कार्यक्रम, पशु आहार घाँस वितरण कार्यक्रम, पशु कृतिम गर्भाधान कार्यक्रम, पशु स्वास्थ्य शिबीर कार्यक्रम, बंगुर प्रवर्दन कार्यक्रम अन्तरगत पाठा, पाठी वितरण कार्यक्रम, महिलाहरुका लागि पशुपालन प्रोत्साहन कार्यक्रम, मासु पसल स्तरउन्नती कार्यक्रममा सहयोग गरिएको हेटौंडा उपमहानगरपालिका आर्थिक महासाखाका प्रमुख गंगा चौलागाईले जानकारी दिनुभयो ।

यसैगरी व्यावसायीक फर्म प्रोत्साहन कार्यक्रम अन्तरगत मिल्क ट्याङ्की तथा क्यान वितरण, सामुदायिक कुकुर व्यावस्थापन कार्यक्रम, युवा लक्षित पशुपालन कृषक अनुदान कार्यक्रम, औषधि खरिद तथा वितरण कार्यक्रम, दुधको खुवा बनाउने बिधुतिय मेसिन वितरण कार्यक्रम, समुहका किसानका लागि पशुपन्छी तौल मेशिन वितरण कार्यक्रम, बोयर बोका वितरण कार्यक्रम, किसानका लागि खोर, गोठ सुधार कार्यक्रम, गाए प्रवर्दन कार्यक्रम, बंगुर प्रबर्दन कार्यक्रम लगायतका क्षेत्रमा सहयोग गरिएको महासाखाका प्रमुख चौलागाईले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा किसानका लागि गरिएका यस्ता छन् कार्यक्रम
कृषि विकास तथा पशु विकास तर्फ उन्नत बाली विकासको लागि विभिन्न बालीको बीउ ३ हजार ४०० केजी र मौसम अनुसारका तरकारीको बीउ १ हजार ५ सय पाकेट वितरण गरिएको छ । मुल्य श्रृंखला कार्यक्रम अन्तरगत कार्यक्रम लागु भएका वडा नम्बर–१७ र १९ का दुई वटा साना किसान कृषि सहकारीमा आवद्ध समुहका सदस्यहरुलाई मागमा आधारित भई विभिन्न २ वटा आयोजना संचालनका लागि सम्झौता सम्पन्न भएर कार्यान्यनमा गएको उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास साखाका प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तरगत स्थानीय तहवाट संचालन गर्ने गरी संघीय सरकारवाट प्राप्त सशर्त अनुदानवाट गत बर्षबाट संचालनमा आएका एक एक वटा मेवा पकेट हेटौंडा १८ र तरकारी पकेट हेटौंडा ७ का लागि चालु आर्थिक वर्षमा प्राप्त कार्यक्रम निरन्तरताको लागि कार्यक्रमको सम्झौता पछी कार्यान्वयनमा गएको छ ।

नगर क्षेत्रमा आवश्यक पर्ने अनुदानको रासायनिक मल वितरण गर्न ३५ वटा कृषि सहकारीहरुलाई विक्रेताको लागि कार्य क्षेत्र सहित किटान गरी रासायनिक मल वितरण गर्ने ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो । पशुपन्छी विकास तर्फ यस चालु आर्थिक वर्षमा ८०–२० को लागत साझेदारीमा साना किसान सहयोग कार्यक्रम अन्तर्गत काउ म्याट वितरण, पाडा पाडी अनुदान, युवा लक्षित अनुदान, माछा तथा हाँस पालन अनुदान, बंगुर पालन अनुदान, ब्यबसायिक फर्म प्रोत्साहन कार्यक्रम गरी १११ जना किसानलाई अनुदान सम्झौता गरेर कार्यान्यनमा गएको न्यौपानेले बताउनुभयो ।
विगत वर्षहरुदेखि संचालन हुँदै आएको पशुको कृतिम गर्भाधान कार्यक्रम चालु चालु आर्थिक वर्षमा पनि संचालन भइरहेको छ । नगरका ४ वटा सेवा केन्द्रहरु मार्फत पशुमा लाग्ने विभिन्न रोगको लागि आवश्यक औषधीहरु निशुल्क वितरण कार्य भएको छ भने मौसम अनुसारको घाँसको वीउ सेवा केन्द्र मार्फत वितरण भइरहेको छ । पशुहरुमा आकस्मिक रुपमा लाग्ने खोरेत, पीपीआर, भ्याकुते रोगहरुको नियन्त्रणको लागि खोप लगाउने कार्य आवश्यकता अनुसार लगाउदै आएको छ ।

चालु आर्थिक बर्षमा कृषि उत्पादनलाई व्यवसायिक बनाउने अभिप्रायले २५ वटा टनेल निर्माण कार्य, प्लास्टिक पोखरी ४ वटा, १० वटा साना सिँचाई आयोजना संचालनका लागि सम्झौता भइसकेर कार्यान्यन भइरहेको छ । कृषक समूह तथा सहकारीमा आबद्ध किसानहरुलाई कृषि पेशामा उत्साहित गराउन ५० प्रतिशत अनुदानमा साना ठुला गरी २४ वटा कृषि यान्त्रिक उपकरण उपलब्धताको लागि सम्झौता पछी कार्यान्वयन चरणमा छ । संघीय सरकारको सशर्त अनुदान मासु मिसन कार्यक्रम अन्तर्गत पाडा पालन कार्यक्रमका लागि कृषक छनोट कार्य प्रक्रियामा रहेको छ ।







