मकवानपुरको भैसे–भीमफेदी सडकः २६ प्रतिशत काम सकियो, मुआब्जा बिबादले समस्या

जनपत्र
४ चैत्र २०७८, शुक्रबार ०८:१३

हेटौंडा । हेटौंडा–काठमाण्डौं छाटो दुरीको मार्ग अन्तरगत भीमफेदी गाउँपालिकाको भैसे देखि भीमफेदी जाने सडक निर्माणको काम धमाधम भइरहेको छ ।

यस सडक निर्माणमा भर्खर २६ प्रतिशत काम सकिएको छ । मुआव्जा बिबादले गर्दा सडक निर्माणको काम अगाडी बढाउनका लागि त्यतीकै समस्या छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाले २०७७ साल असार २४ गते आशिस डिएस जेभी हेटौंडासंग ३८ करोड ७८ लाख रुपैयाँ लागतमा सम्पन्न गर्नका संझौता गरेर काम सुरु गरिएको थियो ।

सडक निर्माणको काम अन्तरगत अहिले कटिङ गर्ने काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी ईन्जिनियर हरि ओझाले बताउनुभयो । सडक निर्माणको काम बिभीन्न ठाउँबाट भइरहेको छ । यस क्षेत्रको ११ दशमलब ५ किलोमिटर सडकलाई दश मिटर चौडा बनाउने र कालोपत्रे गर्नेगरी निर्माण कम्पनिसंग संझौता गरिएको उहाँले जानकारी दिनुभयो ।

यस सडक निर्माण क्षेत्रमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नम्बर–२, ४ र ६ नम्बरमा गरी ४३ घरका टहरा तथा अरु संरचना सडक सिमामा पर्छ । उनीहरुका लागि मुआब्जामा कुरा नमिल्दा अझैपनि सडक निर्माणमा समस्या भने कायमै छ ।

बागमती प्रदेश सरकारले जग्गाको मुआव्जा नदिने र सडक सिमामा परेका घर, टहरा लगायतका संरचनाको मुआब्जा दिने भनेको छ । तर, स्थानीय वासिन्दाहरुले जग्गाको पनि मुआब्जा माग्दा यस क्षेत्रमा थप समस्या परेको हो ।

२०७९ साल असार २३ गते सम्म सडक निर्माणको काम सक्नुपर्ने भएपनि स्थानीय वासिन्दाहरुसंग मुआब्जाका लागि बिबाद भएकै कारण थप समस्या परेको उहाँ बताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*