गठबन्धन नगरी नै कांग्रेसले ४५ लाख भोट ल्याउँछ : महामन्त्री थापा

जनपत्र
२८ फाल्गुन २०७८, शनिबार ०६:०८

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबिना नै कांग्रेसले आउँदो स्थानीय निर्वाचनमा ४५ लाख भोट ल्याउने दाबी गरेका छन्।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनुपर्छ भन्ने लाग्दैन।’
कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशनबाट गठित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रममा थापालगायत अन्य केन्द्रीय र जिल्ला तहका नेताले पनि गठबन्धन नगर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेका थिए।

महामन्त्री थापाले भने, ुरुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नुपर्छ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ। मलाई विश्वास छ पार्टीको नेतृत्वले यो कुरा बुझ्छ।’

कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा पार्टी केन्द्रले चुनावी गठबन्धन गरे विद्रोह हुने चेतावनी दिए। उनले भने, ‘मैले सुनेको छु स्थानीय तहमा महानगरहरुमा चुनावी तालमेल हुने भयो रे। भरतपुरमा अर्कैलाई छाड्ने भइयो भन्ने चर्चा आएको छ। म भन्छु गठबन्धनको नाममा चितवनलाई सधैं घुँडा टेकाउने काम नहोस्। यदि त्यसो भए चितवनले विद्रोह गर्छ।’

चितवनमा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो। माओवादीले मेयर र कांग्रेसले उपमेयरमा साझेदारी गरेका थिए। त्यसैअनुसार मेयरमा रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका थिए। माओवादी अध्यक्ष प्रचण्ड पनि एमालेसँग तालमेल गरेर चितवन–३ बाट विजयी भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*