र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार

जनपत्र
२६ फाल्गुन २०७८, बिहीबार १६:२१

नुवाकाेट – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । आज बुधवार त्रिशूली नदीमा भएको १९ औँ हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताउनुभयो । उहाँले  खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर उद्यमसँग जोड्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

नेपाललाई समृद्ध बनाउने महत्त्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्‍याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । र्‍याफ्टिङ लगायत अन्य जलाशययुक्त खेलमा काठमाण्डाेबाट नजिकमा रहेका त्रिशूली, सुनकोसी र भेटेकाेसीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने उहाँले बताउनुभयो ।
मन्त्री गहतराजले र्‍याफ्टिङ जस्ता पानीमा खेल्ने अन्य खेललाई सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल जलस्रोतको हिसाबले विश्वको दोस्रो धनी राष्ट्र हो । प्राकृतिक हिसाबले विश्वको १७ औँ धनी राष्ट्रमा पर्छ । र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्न सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरेर अगाडि बढ्छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*