मान्छेले एक दिनमा पाँच हजार अनुहार पहिचान गर्न सक्छ !

साथीभाइ र परिवारदेखि बाटोमा हिँडिरहेका वा गाडीमा देखा परेका, अपरिचित व्यक्ति, मोबाइल टिभी, लगायत पत्रपत्रिकामा प्रत्येक दिन हामीले नयाँ अनुहारसँग सामना गरिरहेका हुन्छौँ । तर ती मध्ये हाम्रो मस्तिष्कले कतिलाई याद राख्छ भन्नेबारे वैज्ञानिकहरुले गरेको एक अनुसन्धानले आश्चर्यजनक परिणाम देखाएको हो । अध्ययनकर्ताहरुका अनुसार मानिससँग यसरी दैनिक भेट्ने ५००० हजार अनुहारलाई चिन्न सक्ने क्षमता हुन्छ । यसैकारणले कतिपय मानिसलाई हामीले कहिल्यै नभेटेपनि देखेको जस्तो लाग्ने गरेको उनीहरुले बताए ।
ऐतिहासिक समयमा मानिसहरु केबल १०० जनाको सानो समूहमा बस्ने हुँदा उनीहरुले जीवनभरमा केही दर्जनसँग मात्र भेट् गर्ने गर्थे । तर अहिलेको युगमा भने यस प्रणालीमा ठूलो परिवर्तन देख्न सकिने संचार एजेन्सी सिजिटीएनले जनाएको छ । ब्रिटेन युनिभर्सिटी अफ योर्कले यसैबारे गरेको अनुसन्धानपछि हामीसँग भएको अनुहार पहिचान गर्ने क्षमताले हामीलाई दैनिकको व्यस्त सामाजिक वातावरणमा देखा पर्ने हजारौँ मुहार मस्तिष्कमा राखिदिने गरेको पत्ता लागेको हो । साइकोलोजी विभागकका प्रमुख अध्ययनकर्ता रब जेन्किन्स भन्छन्, ‘दैनिक जीवनमा हामी परिवार, साथी, सहकर्मी र सेलिब्रेटी लगायत धेरै मानिसका अनुहारसँग परिचित हुन्छौँ । तर हामीले व्यक्तिगत रुपमा नचिनेका मानिसहरुलाई पनि पहिचान गर्न सक्छौँ । तर तीमध्ये कति अनुहार हामीले याद राख्न सक्छौँ भन्नेबारे कसैले खोजी गरेको थिएन ।
सो अनुसन्धानमा भने जेन्किन्सको टोलीले सर्वेक्षणमा सहभागी मानिसहरुलाई आफूले व्यक्तिगत जीवनमा सम्झेका अनुहार लेख्न लगाएको थियो । त्यस्तै तिनै सहभागीलाई आफूले देखिरहेको तर व्यक्तिगत रुपमा नचिनेका मानिसलाई पनि यसैगरी याद भएका अनुहार लेख्न लगाइएको थियो । यसका साथै अनुसन्धानको स्थिरता सुनिश्चित गराउन उनीहरुलाई हजारौँ प्रख्यात व्यक्तिहरुको तस्बिर पनि चिन्न लगाइएको थियो । यसमा सहभागीहरुले एक हजारदेखि दश हजारसम्म अनुहारहरु याद गर्न सकेको पाइएको हो । जसपछि औसतमा मानिसले पाँच हजार मुख पहिचान गर्न सक्ने निष्कर्ष निकालिएको हो । यसरी जुन मानसिक तत्वले हामीलाई दर्जनौँ मानिसबीच फरक छुट्याउन मद्दत गर्छ, त्यसैले हामीलाई हजारौँ मानिसलाई अलग गर्नमा पनि सहायता गर्ने जेन्किन्सले बताएका हुन् ।
हाल धेरै विमानस्थल र अपराधिक अनुसन्धानमा अनुहार निरीक्षण गर्ने प्रणाली राखिएको छ जसलाई मानिसको यस क्षमताले मद्दत पुर्याउन सक्ने उनीहरुले बताए । त्यसैगरी यसले वैज्ञानिकहरुलाई गलत पहिचानबारे बुझ्न पनि सहयोग पुर्याउने बताइएको हो । अपरिचित अनुहारहरुको गलत पहिचान हुने गर्दछ । तर परिचित अनुहारमा हामी पूर्ण भरोसा गर्न सक्छौँ । यो अनुसन्धान टोली भने मानिसले कति अनुहार चिन्न सक्छ भन्ने खोजीमा केन्द्रित रहेको थियो तर यसक्रममा उनीहरुले मानिसले अझै असिमित सङ्ख्यामा नयाँ अनुहारहरु पहिचान गर्न सिकिरहेको हुन सक्ने जानकारी पनि प्राप्त गरेका हुन् । उनीहरुका अनुसार हाम्रो मष्तिस्कसँग शब्द र भाषाहरु याद राख्ने असिमित क्षमता हुन्छ जुन हाम्रो अध्ययन समय र प्रेरणामा भर पर्दछ । यसरी व्यवहारिक प्रयोगमा नआएपनि हामीले हजारौँ मानिसलाई भीडबाट छुट्याउन सक्छौँ ।
एजेन्सीको सहयोगमा