मनाङको दूधखोलामाथि ६ वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी आफैँले काठको पुल बनाए
मनाङ – मनाङमा ठेकेदारले छ वर्षसम्म पनि पुल नबनाएपछि स्थानीय बासिन्दा आफैँले काठको पुल बनाएका छन् ।
छ वर्षअघि असारमा द क्याराभान कम्पनीले दूधखोलामा पुल निर्माण गर्ने ठेक्का पाएको थियो । तर ठेक्का लिएर वर्षौँसम्म काम नगरि ठेकेदारले आलटाल गरेर झुलाइदिएपछि स्थानीय बासिन्दा आफैँले खोलामा काठको पुल बनाएका हुन् । एक वर्षभित्रै सक्ने गरी ठेक्का लिएको योजना अहिलेसम्म अलपत्र छ ।
क्याराभानले मृत सञ्जीवनी र खड्का कृष्ण जेभीमा काम गर्ने सम्झौता गरेको छ । जिल्लाको थोँचेबाट तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल २०७३ साल असारमा ठेक्का लागेको थियो । २०७४ साल साउनमा सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म काम भएको छैन ।
पुल बनाउन चारपटक म्याद थप भएको छ तर काममा प्रगति छैन । क्याराभानले नै २०७३ साल असारमा ठेक्का लिएको चार करोड ५७ लाख रुपैयाँको हुम्डे पुलसमेत अलपत्र छ । मर्स्याङ्दी नदीमाथि हुम्डेमा पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले २०७३ कै असारमा बोलपत्र आह्वान गरेको थियो ।
जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्कामात्रै ओगटेर काम नगरेको बताउनुभयो । ठेकेदारविरुद्ध पटक–पटक उजुरी गर्दा पनि कारबाही नभएको उहाँको गुनासो छ।