सत्ता गठबन्धनको बैठक सकियो, आज पनि सहमति जुटेन
काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।
एमसीसीका विषयमा सहमति खोज्नका लागि भन्दै बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक पर्सि फेरि बस्ने भएको छ । सत्ता गठबन्धनको हिजोको बैठकमा पनि सहमति जुट्न सकेको थिएन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद् बैठकमा एमसीसीलाई टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा बैठक दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन ।
सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्नि सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ । एमसीसी अनुमोदन गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग नगरेपछि प्रधानमन्त्री देउवालले एमालेसँग सहकार्य गर्न छलफल थाल्नु भएको छ ।