झण्डै दुई वर्षपछि मलेसिया रोजगारीको माग पत्र प्रमाणीकरण सुरु
काठमाण्डौ – मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको माग पत्र प्रमाणीकरण गर्न थालेको छ ।
कोरोना महामारीको कारण झण्डै दुई वर्षअघिदेखि बन्द रहेको मलेसिया रोजगारीको लागि माग पत्र प्रमाणीकरण मंगलबारदेखि सुरु भएको हो ।
मलेसिया सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि सन् २०२० को मार्चदेखि नै आवागमन नियन्त्रण आदेश जारी गरेपछि दूतावासले पनि नयाँ माग पत्र प्रमाणीकरणको काम स्थगन गरेको थियो । तर मलेसियाले विभिन्न मापदण्डसहित जनवरी २८ तारिखदेखि विदेशी श्रमिकको भर्ना प्रक्रिया सुरु गरेपछि दूतावासले पनि कामदार माग पत्र प्रमाणीकरणको काम सुरु गरेको हो ।
नयाँ माग पत्र प्रमाणीकरणको लागि मंगलबार, बुधबार र बिहिबार पेस गर्न सकिने र प्रमाणीकरण भएको माग पत्र सोमबार लिन सकिने दूतावासले जनाएको छ ।
तर दूतावासमा माग पत्र प्रमाणीकरणको लागि आवश्यक कागजातहरू पेस गर्नुभन्दा अघि दूतावासको वेबसाइटमा गई त्यहाँ उपलब्ध अनलाइन फारम भरेर समय लिन पर्छ ।
माग पत्र प्रमाणीकरणका लागि स्थानीय समय अनुसार दिउँसो २ बजेदेखि ४ बजेर ३० मिनेटसम्ममा दूतावासमा सम्पर्क गर्न सकिन्छ ।