कैलालीमा यु -१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता एलपीएल सुरु, उद्घाटन खेलमा सत्यवती अत्तरिया विजयी

जनपत्र
२ फाल्गुन २०७८, सोमबार २०:४७

कैलालीको धनगढीमा सोमबारदेखि यु-१९ विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण सुरु भएको छ। धनगढीस्थित सङ्घीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्‍यो। खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।

लिटल फ्लावरको ब्याटिङमा कप्तान विपीन रावलले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै नरेन भट्टले २८ रन बनाए। सत्यवती एकेडेमीका बलर नीरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए भने सन्तोष कार्की, सन्दीप खत्री र सुजन गौतमले समान एक विकेट लिए।

टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १९७ रन बनाएको थियो। सत्यवती एकेडेमीका लागि सन्दीप खत्रीले २९ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ६६ रन बनाए। यस्तै सन्तोष कार्कीले ३३ रन, खगेन्द्र जोशीले ३२ रन तथा आदील अन्सारीले ३० रनको योगदान दिए। लिटल फ्लावरका बलर प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सन्दीप खत्री घोषित भए। प्रतियोगिता अन्तर्गत मङ्गलबार दुई खेल हुनेछन्।

बिहान ९:३० बजे हुने पहिलो खेलमा होलिल्याण्ड इंगलीश बोर्डिङ स्कुल र एभरेस्ट एकेडेमीले तथा दिउँसो १:३० बजे गुरुकूल इंगलीश स्कुल र स्टेपिंग इंगलीश स्कुलले प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँ, कञ्चनपुर र कैलालीका १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*