महाअभियाेगबारे प्रचण्ड– ‘न्यायालयकाे बेथिति राेक्न वैधानिक बाटाे राेजेका हाैँ’

जनपत्र
१ फाल्गुन २०७८, आईतवार १९:४५

धनुषा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा केही समयदेखि देखिएको अन्योल, अराजकता र बेथिति रोक्न महाअभियोग ल्याएको बताउनुभएको छ ।

धनुषामा आज आइतवार पत्रकारसँग कुरा गर्दै प्रचण्डले न्यायालय सुधारका लागि गठबन्धन दलको सल्लाहमा प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको भन्दै यसले गठबन्धनलाई अझ बलियो बनाउने बताउनुभयो ।

न्यायालयमा लामो समयदेखि देखिएको विवादको हल गर्न गठबन्धनले स्वयम् प्रधानन्यायाधीशलाई आग्रह गरे पनि त्यस्तो स्थिति नदेखिएका कारण महाअभियोग ल्याउन बाध्य भएको उहाँको भनाइ छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा सत्तारुढ सबै दलको सहमति रहेको पनि उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘न्यायालयमा देखिएकाे अन्याेल, अराजकता र बेथिति राेक्न हामीले प्रधानन्यायाधीशविरुद्ध महाअभियाेग ल्याएका हाैँ । याे सबै राेक्न एउटा वैधानिक बाटोबाट, संवैधानिक बाटोबाट, लोकतान्त्रिक बाटोबाटै निकास दिने भनेको महाअभियोग नै हुन्थ्यो । त्यसमा गठबन्धनमा आम सहमति पनि भयो र हामीले दर्ता गर्‍याैँ । यो कारणले गठबन्धन कसरी टुट्छ ? नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा सबैको सहमतिबाट महाअभियोग लगाउने प्रस्ताव दर्ता गरिएको छ ।’

अध्यक्ष दाहालले स्वतन्त्र न्यायालयमाथि देखिएको अराजकता र बेथितिको अन्त्य गर्न सम्बन्धित सबै पक्षलाई पटक–पटक आग्रह गरेको पनि बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*