बझाङकाे साइपालमा सेनाको हेलिकप्टरबाट चामल ढुवानी

जनपत्र
१ फाल्गुन २०७८, आईतवार १७:५५

काठमाण्डाै – बझाङको साइपाल गाउँपालिकाका दुर्गम भेगमा नेपाली सेनाकाे हेलिकप्टरबाट चामल सामग्री ढुवानी गरिएको छ । आज आइतवार गाँउपालिकाको वडा नम्बर ३, ४ र ५ मा चामल ढुवानी गरिएको हो ।

बझाङको हिमाली भेगमा पर्ने यस गाउँपालिकामा खाद्य व्यवस्था कम्पनीले भेडा–च्याङ्ग्राबाट चामल ढुवानी गर्दै आएको भए पनि केही दिनअघि परेको बाक्लो हिमपातका कारण भेडा–च्याङ्ग्रा हिँड्न नसक्ने भएपछि सेनाको हेलिकप्टरबाट खाद्य सामग्री (चामल) ढुवानी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयाे । वडा नम्बर ३ को काँडा, वडा नम्बर ४ को धुली र वडा नम्बर ५ को न्युनामा हेलिकप्टरबाट खाद्यान्न पुगेपछि सङ्कट टरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी बताउनुहुन्छ ।

तत्काल भेडा–च्याङ्ग्राबाट चामल ढुवानीको गर्न सम्भव नहुने भएका कारण सङ्घीय सरकारलाई अनुराेध गरेर हेलिकप्टरबाट चामल ढुवानी गरेको उहाँले जानकारी दिनुभयाे ।

साइपाल गाउँपालिकाको उत्तरी गाउँहरूलाई जोड्ने रस्यालेक, पानी लोट्या ठाउँको झन्डै पाँच किलोमिटर बाटोमा अहिले ५–७ फिट बाक्लो हिउँ जमेको र त्यहाँ पनि हेलिकप्टरबाट चामल पठाइएको गाउँपालिकाका अध्यक्ष धामीले बताउनुभयो ।

बाक्लो हिमपातका कारण ढुवानी रोकिएपछि चामल अभाव झेलिरहेका स्थानीयवासीलाई चामल पुगेपछि राहत भएको छ ।

‘भोकभोकै बस्नुपर्ने हो कि भन्ने चिन्ताले गाउँ नै आतङ्कित भएको थियो’, स्थानीयवासी रामबहादुर बोहराले भन्नुभयाे, ‘गाउँमा चामल पुगेपछि अहिले सबैले राहत महसुस गरेका छन् । साँच्चै यहाँका नागरिकले स्थानीय सरकार आएकाे अनुभूति गर्न पाएका छन् । सिहंदरबारको अधिकार गाँउ–गाँउमा भन्ने नारा साकार भएको उहाँ बताउनुहुन्छ ।  खाद्यान्न अभावका कारण केही हप्तासम्म यहाँका नागरिकले दिउँसो एक छाक मात्र खाना खाने गरेको बताउँदै उहाँले चामल पुगेपछि मानिसहरू निकै खुसी भएको बताउनुभयाे ।

वडा नम्बर ३, ४ र ५ मा वडैपिच्छे २० क्युन्टल ४० केजीकाे हिसाबले चामल ढुवानी गरिएको जिल्ला खाद्य संस्थान बझाङका कार्यालय प्रमुख ईश्वरीदत्त पाण्डेले जानकारी दिनुभयाे । गाउँपालिकाकाे वडा नम्बर १ र २ मा खच्चड नै पुग्ने भएकाले त्यहाँ खाद्यान्नको समस्या नभएकाे उहाँ बताउनुहुन्छ ।

उच्च हिमालमा पर्ने भएकाले अन्न उत्पादन कम हुने यस गाउँपालिकामा स्थायी डिपो सञ्चालन गरिदिनका लागि गाउँपालिका र स्थानीयवासीले प्रदेश सरकारका मुख्यमन्त्री र सङ्घीय सरकारकाे वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पटक–पटक अनुरोध गरेको भए पनि यस विषयमा सुनुवाइ हुन सकेकाे छैन ।

साइपाल गाउँपालिकामा स्थायी डिपो सञ्चालन नभएसम्म स्थानीयवासीले खाद्यान्नका लागि भौतारिनुपर्ने देखिएकाे गाउँपालिकाका अध्यक्ष धामी बताउनुहुन्छ ।

यहाँका स्थानीयवासीले बर्सेनि खाद्यान्नकाे अभाव झेल्दै आएका छन् । यस विषयमा सङ्घीय सरकारले विषेश ध्यान दिनुपर्ने धामीले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*