टोकनले बनायो सहज हेटौंडा अस्पताल

जनपत्र
२२ जेष्ठ २०७६, बुधबार ११:००

हेटौंडा / हेटौंडा अस्पतालमा बिरामीको चाप बढेसँगै सेवाग्राहीको सहजताका लागि टोकन सिस्टम लागू गरिएको छ । अस्पतालका अनुसार टोकन सिस्टमले गर्दा जेष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्ति लाइनमा बस्नु नपर्ने भएको छ ।
अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी सेवा लिन आउने गर्दछन् । अस्पतालको सेवामा सुधार भएसँगै जिल्लाभरका सेवाग्राहीको भीड लाग्न थालेको हो ।

सेवा लिन आएका बिरामी लामो समय लाइन बस्नुपर्ने भएकाले सेवाग्राहीको सहजताका लागि अस्पतालले टोकन सिस्टम लागू गरेको हो । अस्पतालले ३ लाख रुपैयाँको लागतमा ५ वटा अटो डिस्प्लेसहित टोकन सिस्टम सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले बताए । टोकन लिएर आफ्नो पालोमा टिकट वा पैसा तिर्न जान सकिन्छ । बच्चा बोकेर लाइनमा घण्टौंसम्म बस्नुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख श्रेष्ठले बताए ।

‘टोकन सिस्टम लागू गरेकाले लाइनमा बसिरहनुपरेन,’ हेटौंडा उपमहानगरपालिका १९ का रेवती ढकालले भने, ‘आफ्नो पालो आउने बेलामा आए भै गो, टोकनले सजिलो भएको छ ।’ हेटौंडा अस्पतालले स्वास्थ्य बिमा, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई छिट्टै नै अर्को काउन्टरको व्यवस्था गर्ने योजना रहेको बताएको छ । पछिल्लो समय हेटौंडा अस्पतालमा सेवा थपिएका छन् ।

छाला, पाठेघरको मुखको क्यान्सर ९भीआईए० र दन्तसम्बन्धी सेवा थप गरिएको अस्पताल विकास समितिको अध्यक्ष प्रकाश पौडेलले बताए । विगतमा अस्पतालमा दन्त र छालासम्बन्धी सेवा नहुँदा बिरामी रिफर गरेर चितवन र काठमाडौं पठाउनुपर्ने बाध्यता थियो अहिले त्यो हटेको उनले सुनाए ।

अस्पताल सुदृढीकरण हुँदै

हेटौंडा अस्तालको सुदृढीकरणका लागि प्रदेश ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू वर्षमा २ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ । अस्पतालको विभिन्न शीर्षकमा रकम खर्च भइरहेको अस्पतालले जानकारी दिएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाले पनि हेटौंडा अस्पताललाई सहयोग गर्दै आएको छ । उपमहानगरले अस्पताल सुदृढीकरणका लागि अस्पतालललाई ४० लाख बजेट दिएको छ ।

अस्पतालको भवन, ओपीडी, इमर्जेन्सी, फार्मेसी, ल्याब तथा फोहोर व्यवस्थापनमा उक्त रकम खर्च भएको अस्पतालले जनाएको छ । मुख्य गरेर अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि पनि हेटौंडा अस्पतालले निर्मलीकरण गर्ने मेसिन राख्ने भवनको काम सुरु गरेको डा। श्रेष्ठले बताए ।

पाइपलाइनमार्फत अक्सिजन

अस्पतालमा हाल शल्यक्रिया गरेर बस्ने बेडमा अक्सिजन पाइपलाइनमार्फत पुर्‍याइएको छ । बिरामीलाई बेडमा नै इपलाइनमार्फत अक्सिजन पुर्‍याइएको हो । अस्पतालमा २ वटा भेन्टिलेटर पनि वर्षौंदेखि थन्किएर रहेका छन् । भेन्टिलेटरको मर्मत नहुँदा प्रयोगमा ल्याउन नसकिएको हो ।
सेवाहरू थप गरिँदै लैजाँदा अस्पतालमा दक्ष जनशक्ति आवश्यकता रहेको अस्पतालले जनाएको छ ।

आजको कान्तिपुर दैनिकमा प्रताप बिष्टले लेखेको समाचार हामिले सभार गरेका हौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*