जुम्लामा हिउँले कठाङ्ग्रिएर दुई जनाको ज्यान गयो, दर्जनाैँ हिउँमा फसे

जनपत्र
२३ माघ २०७८, आईतवार १०:४७

जुम्ला – जुम्लामा हिउँले कठाङ्ग्रीएर दुई जनाको ज्यान गएको छ । यस्तै दर्जनौ बढी मानिसहरु हिउँमा फसेका छन् ।

जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ वर्षीय मुन रावत र तातोपानी ८ निवासी ३७ वर्षीया देवी शाहीको चिसोले कठाङ्ग्रीएर ज्यान गएको हो ।

रावतको गोठालो गएको बेला हिउँमा परेर ज्यान गएको र देवी शाहीको सेतो चिनी कोरेर फर्किने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । यसैगरी तातोपानी गाउँपालिका ८ मा लगभग ५५ जना मानिसहरु हिउँमा फसिरहेको गाउँपालिकाले जनाएको छ । काम गर्न गएका ५५ बढी मानिसहरु फसेका भन्ने खबर आएको तर कति मानिस हिउँमा फसे यकिन हुन नसकेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेको भनाइ छ ।

यस्तै त्यो क्षेत्रमा उद्धारको लागि खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार धेरै मानिस हिउँमा फसेको खबर प्राप्त भएपछि उद्धारको लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको हाे । नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार सुर्खेतबाट हेलिकोप्टर आउने र खाद्यन्न लिएर त्यस क्षेत्रतिर लाग्ने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*