हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा लिएर उद्योग सञ्चालन नगर्नेलाई जग्गा खाली गर्न अल्टिमेटम
हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगर्नेलाई जग्गा खाली गर्न अल्टिमेटम दिइएको छ । बर्षौंदेखि औद्योगिक क्षेत्रको जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगर्ने २ वटा उद्योगलाई जग्गा खाली गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ३५ दिने सूचना जारी गरेको छ।
सार्वजनिक सूचना जारी गर्दै लिमिटेडले क्वालिटी ह्याचरी एण्ड फिड इन्डष्ट्री र साउथ एशिएन ब्रुअरीलाई उद्योग सञ्चालन गर्न वा जग्गा खाली गर्न ३५ दिनको समय दिएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको व्यवस्थापक राजेन्द्र कँडेलले बताउनुभयो ।
लिमिटेडका व्यवस्थापक कँडेलका अनुसार ३५ दिनभित्र उद्योग सञ्चालन गर्ने आधार लिएर नआएमा लिमिटेडले जग्गा आफ्नो कब्जामा गर्नेछ। ‘३५ दिनभित्रमा उहाँहरूले उद्योग सञ्चालन गर्ने आधार वा जग्गा फिर्ता गर्न आउनुभएन भने हामी हाम्रो जग्गा कब्जा गर्छौं’,उहाँले भन्नु भएको छ ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार ९ वटा उद्योगले त्यहाँको जग्गा वर्षौंदेखि कब्जा गरिराखेका छन्। उद्योग सञ्चालन गर्नका लागि भनेर लिमिटेडसँग सम्झौता गरेका उनीहरूमध्ये केही उद्योगको भौतिक संरचना नै बनेको छैन।
केहीले संरचना मात्रै बनाएर छोडेका छन् त केहीको उद्योग विभिन्न कारणले बन्द अवस्थामा छ। उनीहरूलाई उद्योग सञ्चालन नगर्ने भए जग्गा खाली गरिदिन लिमिटेडले आग्रह गर्दै आएको भए पनि विभिन्न बहानाबाजीमा उनीहरूले जग्गा खाली गर्नुको साटो कब्जा गरेर बसेका छन्।
२ सय ४० बिघा क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रको जग्गा ओगटेर उद्योग सञ्चालन नगर्नेमा ठूला व्यवसायीदेखि राजनीतिक दलको नेतासमेत रहेका छन्। यसरी औद्योगिक क्षेत्रको सबैभन्दा धेरै जग्गा ओगटेर उद्योग सञ्चालन नगर्नेको पहिलो नम्बरमा साउथ एसियन ब्रुअरी रहेको छ। यस उद्योगले औद्योगिक क्षेत्रको १ सय ५ रोपनी जग्गा ओगटेको छ।