राजस्व छल्नेमाथि ३६ करोड ५५ लाख ६७ हजार रुपैयाँ बढीको मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा विभिन्न चार जना संलग्न आईटी कम्पनीविरुद्ध बिगो दाबी र सजायसहित कुल ३६ करोड ५५ लाख ६७ हजार ५ सय ४ रुपैयाँको मुद्दा दायर गरेको छ । विभिन्न तरिका अपनाएर राजस्व छल्ने चार जना आईटी कम्पनीका सञ्चालकविरुद्ध विभागले १८ करोड २७ लाख ८३ हजार ७ सय ५२ रुपैयाँ बिगो दाबी र सोही रकम बराबरको थप जरिवाना र सजायसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको जनाएको छ ।
विभागका अनुसार ब्रिङ मिडिया डिस्ट्रब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, सोही कम्पनीका व्यवस्थापक सुरेन्द्र क्षेत्री र अर्का व्यवस्थापक सुमन क्षत्रीमाथि राजस्व छलीको मुद्दा दायर गरेको हो । यसैगरी, अर्को कम्पनी स्टार इन्डिया प्रालि भारतको आधिकारिक बिक्रेता जुपिटर मिडिया प्रालिका प्रोप्राइटर अञ्जली अरोरसमेत विरुद्ध विभागले मुद्दा दायर गरेको जनाएको छ ।
विभागका अनुसार यी कम्पनी तथा फर्मले वस्तु तथा सेवा विना नक्कली बिजक बनाएको, आफूले व्यावसायिक रूपमा गरेका सम्झौताअनुसारको प्राप्त हुने व्यावसायिक आयलाई लुकाइ÷छिपाइ वास्तविक कारोबारमा समावेश नगरेको पाइएको छ ।
त्यसैगरी, व्यावसायिक कारोबारका लागि प्रालिका नाममा खोलिएको बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउनुपर्ने वास्तविक कारोबार नदेखाएको र नपाउने खर्चसमेत दाबी गरी मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर र आयकर दुवै छली गरेको देखिएको विभागले जनाएको छ ।
विभागले उनीहरूमाथि मूल्य अभिवृद्धि करतर्फ ६ करोड ११ लाख ५५ हजार ५ सय १८ रुपैयाँ र आयकरतर्फ १२ करोड १६ लाख २८ हजार २ सय ३७ रुपैयाँ गरी कुल १८ करोड २७ लाख ८३ हजार ७ सय ५२ रुपैयाँ बिगो कायम गरी त्यसमा शतप्रतिशत जरिवाना र सजाय माग्दै मुद्दा दायर गरिएको बताएको छ ।
विभागले राजस्व चुहावट गरेको आरोपमा ती चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । विभागले काठमाडौंको ब्रिङ मिडिया डिस्ट्रिब्युसनका सञ्चालकसहित चार जनाविरुद्ध सो रकम बिगो र सजाय माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिका सञ्चालक अधिकारी, सोही कम्पनीका व्यवस्थापक क्षेत्री, अर्का व्यवस्थापक सुमन क्षत्री र काठमाडौं महानगरपालिका–१० बस्ने स्टार इन्डिया प्रालि भारतका आधिकारिक बिक्रेता जुपिटर मिडिया प्रालि र भारतका प्रोप्राइटर अञ्जली अरोराविरुद्ध १८ करोड २७ लाख ८३ हजार ७ सय ५२ रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको बताएको छ ।
ब्रिङ मिडिया डिस्ट्रिब्युसन स्थायी लेखा नम्बर ६०४३६१५२१० ले विभिन्न फर्म÷कम्पनीविरुद्ध वस्तु तथा सेवा बेगरको कर बिजक मात्र लिएको आरोप विभागले लगाएको छ । अब उनीहरूविरुद्ध राजस्व छलीको कसुरमा कडा कारबाही हुने विभागले जनाएको छ । राजधानीडेलीबाट