सात दिन भित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई पर्यटन मन्त्रालयकाे अल्टिमेटम
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हाल सम्म पनि रोयल्टी नबुझाउने पाँच क्यासिनोहरुलाई एक हप्ताभित्र रोयल्टी बुझाउन निर्देशन दिएकाे छ । मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै काठमाण्डौमा रहेका होटल याक एण्ड यति, ओरियन्टल होटल्स(र्याडिसन होटल), रक इन्टरनेशनल, ह्याप्पी आवर तथा सेन्ट्रल मिडिया प्रालीले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न र नगरेमा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएकाे छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्मको वक्यौता होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटलले १८ करोड ७६ लाख रुपैयाँ, रक इन्टरनेशनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ, ह्याप्पी आवर प्रालीले २१ करोड ५५ लाख रुपैयाँ तथा सेन्ट्रल मिडिया प्रालीले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ ।
गएकाे कात्तिक सात गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिएपनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सात दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले क्यासिनोहरुले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो ।
यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तूर र जरिबाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई पक्राउ गरिएको थियो । क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिबाना र दुई वर्षको नवीकरण दस्तुरसहित १४ करोड २० रूपैयाँ नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । पछि प्राइम बैंक जमानत बसेपछि उनलाई छाडियो ।
काठमाण्डौको सांग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रूपैयाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ । पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाउनेलाई कारबाही हुने चेतावनी दिनुभएको छ ।






