जहाँ आमा बन्नेबित्तिकै होटल पुग्छन् महिला

जनपत्र
२१ जेष्ठ २०७६, मंगलवार ०६:०३

डेनमार्कको राजधानी कोपनहेगनस्थित बेबी होटलले कुनै हस्पिटलको म्याटर्निटी वार्डको झल्को दिन्छ । प्यासेजमा पुग्दा शिशुको रोदन सुनिन्छ, प्रसूति तथा नवजात शिशुको हेरचाहमा खटिएका नर्स देखिन्छन् । आफ्नो पहिलो सन्तानलाई जन्म दिएका जोसुकै महिला यहाँ दुई दिनसम्म बस्न सक्छन् । यदि आमा वा बच्चामा कुनै समस्या छ भने उनीहरु समस्या समाधान नभएसम्म यहाँ रोकिन सक्छन् ।

कोपनहेगनको ह्विदेब्रो अस्पतालमार्फत सञ्चालित यो म्याटर्निटी होटल प्रोग्राम सरकारी कोषबाट चल्दछ । यहाँ सबै शिशुलाई उसको जिन्दगीको पहिलो दिन समान अधिकार र समान हेरचाह दिइन्छ । शिशुका आमाबुबा जुनसुकै सामाजिक या आर्थिक हैसियतका होऊन्, धनी होऊन् या गरिब, सबैलाई समान सेवा दिन्छ यो कार्यक्रमले । उदार चाइल्डकेयर नीतिअन्तर्गत डेनमार्क सरकारको यो कार्यक्रमले सबै मातालाई आफ्नो नवजात शिशुका लागि राम्रो स्वास्थ्य र उसको जिन्दगीका पहिला दुई दिन सर्वोत्तम हेरचारको अधिकार दिन्छ ।

पहिलोपटक आमा बनेकी महिलाले अस्पतालको म्याटर्निटी वार्ड वा होटलमा सित्तैमा यो सेवा लिन सक्छिन् । र, नर्सहरुबाट उत्कृष्ट हेरचाह र परामर्श पाउन सक्छिन् । युरोपका अधिकांश मुलुकजस्तै डेनमार्कमा पनि जन्मदर घट्दो छ । वृद्ध जनसंख्याको प्रतिशत बढ्दो छ । सरकार महिलाहरुलाई आमा बन्न प्रोत्साहित गर्दै छ । यसका लागि सरकार फ्रि–भिट्रो फर्टिलाइजेसनजस्ता कार्यक्रम चलाइरहेको छ । कोपनहेगनस्थित यो ‘हस्पिटल–कम–होटल’मा सबैखाले खानाका परिकार पाइन्छन्, जसमा ६० देखि ९० प्रतिशत अर्गानिक छन् । ‘आमा’हरुले फोनबाटै अर्डर दिन सक्छन् ।

ह्विदेब्रो अस्पतालमा आउने नयाँ आमाबाबुलाई सामान्यतया ५२ हप्ताको छुट्टी दिइन्छ । छुट्टीअन्तर्गत ‘आमा’लाई १८ हप्ताको पूरा तलब दिइन्छ । हस्पिटलमा सेवा लिइरहेका सबैजसो आमा सेवाबाट सन्तुष्ट देखिन्छन् । आफूले हासीखुसी कर तिरेबापत सरकारले पनि मन खोलेर सेवा दिएकोमा उनीहरु खुसी छन् । बेबी होटलमा बस्ने बच्चाका बाबुलाई पनि उत्तिकै सुविधा छ । आमाबाबुको अनुहारमा खुसी छाइरहोस् भनेर भित्ताहरुमा खेलिरहेका, मुस्कुराइरहेका शिशुका तस्बिर राखिएका छन् । शिशुलाई स्तनपान गराउँदा इन्फेक्सन नहोस् भनेर यहाँ विशेष सुरक्षा अपनाइन्छ । जन्मको पहिलो दिनदेखि नै बच्चालाई ‘हैसियत’अनुसार वर्गीकरण गर्ने समाजमा यस्तो सेवाले समानताको सन्देश दिने सेवा लिनेहरुको विश्वास छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*