निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सोमबार राष्ट्रपति भण्डारीसमक्ष हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणाम र संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानुनमा तोकिएको समय सीमाभित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरुरी भएकोले आयोग त्यसतर्फ तयारी अवस्थामा रहनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाबमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेकोमा आयोगलाई धन्यवाद समेत दिइन् ।
यसैगरी राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकाले निर्वाचनमा बढीभन्दा बढी मतदातालाई सहभागिता गराउनेतर्फ कार्य गर्न पनि आयोगलाई आग्रह गरिन् । यसैगरी निर्वाचन प्रणालीलाई लंैगिकमैत्री बनाउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन राष्ट्रपति भण्डारीले आयोगलाई सुझाएकी छन् ।





