प्रचण्डका आफन्तदेखि कांग्रेस बागमती सभापति इन्द्र बानियाँको कब्जामा हेटौँडा औद्योगिक क्षेत्रको सयौं रोपनी जग्गा

जनपत्र
१४ माघ २०७८, शुक्रबार १९:४८

हेटौँडा / नयाँ उद्योग स्थापना गर्न जग्गाको अभाव भइरहेका बेला हेटौँडा औद्योगिक क्षेत्रभित्र नेता र तिनका आफन्तले सयौं रोपनी जग्गा कब्जा गरेको भेटिएको छ ।

क्षेत्रफलका हिसाबमा देशकै ठूलो हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाका लागि एक रोपनी जग्गा पाइँदैन । ३ हजार २ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रमा हाल सञ्चालित उद्योग, सञ्चालनको अन्तिम चरणमा रहेका उद्योग र केहीको निर्माण भइरहेकोले अब नयाँ उद्योगका लागि जग्गा अभाव छ । तर, नेतादेखि तिनका आफन्तले भने नियमविपरीत सयौँ रोपनी जग्गा कब्जा गरेर राखेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको रेकर्डमा छ ।

औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्ने भनेर जग्गा भाडाको सम्झौता गरेका पहुँचवालाहरू उद्योग खोल्नु त टाढाको कुरा मासिक भाडा पनि तिर्दैनन् । नियमानुसार जग्गा सम्झौता गरेको दुई वर्षभित्र उद्योग स्थापना गरिसक्नु पर्ने हुन्छ । दुई वर्षमा उद्योग सञ्चालन नगरे औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई जग्गा फिर्ता गर्नुपर्छ । तर, पहुँचको आडमा जग्गा भाडामा लिएर उद्योग पनि सञ्चालन नगरी जग्गा फिर्ता नगरेको पाइएको छ ।

एक सय ५ रोपनी जग्गा भाडामा लिएर उद्योग नचलाउने एक जना चितवनका गोकुल भण्डारी हुन् । भण्डारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा हुन् । राजनीतिक पहुँचकै आधारमा विगत पाँच वर्षदेखि जग्गा कब्जा गरेर भण्डारी बसेको पाइएको छ । २०७३ सालमा भण्डारी सञ्चालक रहेको साउथ एसियन ब्रुअरी इण्डस्ट्रिज प्रालिले वियर उत्पादन गर्ने भन्दै जग्गा सम्झौता गरेको थियो । साउथ एसियन ब्रुअरीले भाडा नियमित तिर्दै आएको छ ।

हेटौँडाको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, काठमाडौंलाई जग्गा फिर्ताको प्रक्रियाबारे पत्राचार गरे पनि लिमिटेडले १ वर्षको समय थप गरेर पठाएको थियो । यसअघि प्रशस्त समय हुँदा पनि काम नगरेकाे साउथ एसियन ब्रुअरीलाई लिमिटेडले २०७९ असार मसान्तसम्मको समय थप गरेको छ । साउथ एसियन ब्रुअरीको मदिरा उत्पादन गर्ने लाइसेन्स नवीकरण नभएको बुझिएको छ । जग्गा सम्झौता गरेको पाँच वर्षसम्म भण्डारीले भौतिक संरचना पनि तयार गरेका छैनन् ।

भण्डारी मात्र हैन्, व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाले पनि ३४ रोपनी जग्गा कब्जा गरेर राखेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएकाे छ । थापाका व्यवसायिक साझेदार नेकपा एमाले दैलेखका उपाध्यक्ष तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुका पूर्वमहाप्रबन्धक नन्दकिशोर बस्नेतले २०६४ सालमै क्वालिटी ह्याचरीको नाममा जग्गा हत्याएका थिए ।

उनै बस्नेतले केही वर्षअघि हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई सुइँको नदिई क्वालिटी ह्याचरी इण्डष्ट्रिजको नाम परिवर्तन गरी क्वालिटी लाइभष्टक एण्ड एग्रो प्रालि बनाएको खुलेको छ । त्यसपछि बस्नेतले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको २०७८–७–९ को अभिलेख अनुसार, क्वालिटी ह्याचरीलाई थापा सञ्चालक रहेको सनउड डेभलोपर्स एण्ड होटल प्रालिमा शेयर धनी परिवर्तन गरेका थिए ।

बस्नेतले आफू औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक रहेका बेला आफ्नो कमजोरी लुकाउन कम्पनीको नाम फेर्नेदेखि शेयर धनी नै अर्कै कम्पनीकोमा गर्ने प्रपञ्च रचेको पाइएको छ । बस्नेतले कम्पनीको नाम परिवर्तन गरी जग्गा भाडाबापतको रकम नतिर्ने योजना बनाएपछि हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले हाल लिमिटेडलाई पत्राचार गरेर जग्गा फिर्ता गराउने प्रक्रिया अगाडि बढाएको छ ।

सनउड डेभलोपर्सले क्वालिटी ह्याचरी नामक उद्योग खोल्न भन्दै औद्योगिक क्षेत्रको दक्षिणतर्फ जंगल क्षेत्रको जग्गा भाडामा लिएको थियो । डिभिजन वन मकवानपुरले यसअघि वन क्षेत्रका रुख कटान गर्न रोक लगाएपछि उद्योगको संरचना बनेको थिएन । १४ वर्षसम्म पनि जग्गा सम्झौता गरेर उद्योग खोल्ने नसकेको सनउड डेभलोपर्सलाई औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पनि केही गर्न सकेको छैन् । कार्यालय प्रमुख राजेन्द्रप्रसाद कँडेलले भने अब सनउड डेभलोपर्सबाट जग्गा फिर्ता हुने बताउँछन् ।

राजनीतिक पहुँचका कारण थापाको कम्पनी सनउड डेभलोपर्सले जग्गा भाडा पनि तिरेको छैन् । कार्यालयसँग प्रतिरोपनी वार्षिक ८ हजार ३ सय ३१ रुपैयाँ भाडा सम्झौता गरेको सनउड डेभलोपर्सले १४ वर्षसम्म एक रुपैयाँ भाडा पनि नतिरेको कार्यालय प्रमुख कँडेलले जानकारी दिए । कार्यालयका अनुसार, सनउड डेभलोपर्सले हाल ४० लाख रुपैयाँ जग्गा भाडा वापतको रकम कार्यालयलाई तिर्न बाँकी छ ।

यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँले पनि विगत पाँच वर्षदेखि साढे २३ रोपनी जग्गा कब्जा गरेर बसेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएकाे छ । बानियाँ मल्टी प्रोडक्टको नाममा ५ माघ २०७३ मा जग्गा सम्झौता भएको थियो ।

पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले सम्झौताअनुसार उद्योग सञ्चालन नगरी उनको अर्को उद्योग गंगा शोप (हाल बन्द) का लागि सामानको गोदाम बनाएर राखेका थिए । कार्यालयले २ वर्षअघि कि उद्योग सञ्चालन गर्नु नभए जग्गा फिर्ता गर्नु भन्ने ठाडो चेतावनी दिएपछि बानियाँ मल्टी प्रोडक्टले गोदाम हटाएको थियो । त्यहाँबाट गोदाम हटे पनि नेता बानियाँले उद्योग सञ्चालनका लागि भने कुनै काम गरेका छैनन् । बानियाँ मल्टी प्रोडक्टले जग्गाको भाडा भने तिर्दै आएको छ ।

बानियाँ मल्टी प्रोडक्टकातर्फबाट इन्द्रबहादुर बानियाँका भतिजा उज्वल बानियाँले हेटौंडा औद्योगिक क्षेत्रसँग जग्गा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  कुरा गर्दै उज्वल बानियाँले उद्योगको डिजाइन परिवर्तन भएकाले समयमै सञ्चालन गर्न नसकेको बताए । उनले उद्योगको पुरानो डिजाइन र प्रस्तावित मेसिन पनि परिवर्तन गर्नुपर्ने भएकोले उद्योग सञ्चालनमा ढिलाइ भएको स्वीकारे ।

हाल, हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ एक दर्जन उद्योग सञ्चालनको तयारीमा छन् । ती उद्योगहरूलाई छिटो सञ्चालनमा आउन ताकेता गरिरहेको कार्यालयले पहुँचवालाहरूलाई भने ध्यान नै नदिएको पाइएको छ । कार्यालय प्रमुख कँडेलले उद्योग सञ्चालन गर्न ताकेता गरिरहेको बताउँछन् ।

प्रमुख कँडेलले तीन वटै कम्पनीहरूलाई उद्योग स्थापना गर्न निरन्तर ताकेता गरिरहेको र सञ्चालकहरूले अटेर गर्दै आएको बताए । ‘म कार्यालय प्रमुख भएर आएदेखि नै जग्गा ओगटेर बसेको कम्पनीहरूलाई उद्योग खोल्न भन्दै आएको छु । तर, कम्पनीहरूले उद्योगको संरचना पनि बनाएका छैनन् । अब उद्योग सञ्चालन नगरे हामी जग्गा फिर्ताका लागि प्रक्रिया अघि बढाउँछौं,’ कँडेलले भने ।

हेटौँडा औद्योगिक क्षेत्रका आधा दर्जन उद्योगहरू विविध कारणले बन्द भइसकेका छन् । जग्गाको अभावमा बन्द भएका उद्योगमै नयाँ उद्योग स्थापनाका लागि कार्यालयले तयारी गरिरहेको छ । दुई वर्षभित्र रिजोइन क्वालिटी फुड, नेमो पार्केट, गंगा शोप, हिमालयन पोलिमर्स, युरियामाई काष्ठमण्डप उद्योग बन्द भइसकेको कार्यालयले जानकारी दिएको छ ।

शिलापत्रका लागि नवीन तिमल्सीनाले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*