फेरि चिप्लियो को बन्छ करोडपति

हु वान्टस टु बी अ मिलिनियरको नेपाली फ्रेन्चाइज शो को बन्छ करोडपतिको आइतबारको शोमा पाहुनाहरुलाई बोलाइएको थियो। सन्दीप क्षेत्री र कार्यक्रमका प्रायोजक सिभिल बैँकका सिइओ गोविन्द गुरुङ। शोमा पाहुना बोलाउनु नयाँ कुरा हैन। बाहिरतिर पनि बोलाइन्छ। तर बाहिरका शोहरुमा सेलिब्रिटीहरु बोलाइन्छ। हाम्रोमा भने प्रायोजक एउटा बैँकका सिइओलाई बोलाएछन्। त्योसम्म त ठीकै भनेर मान्न सकिएला। तर यहाँ कुरा आयो प्रश्नको। प्रश्नमा फेरि एक पटक को बन्छ करोडपति चिप्लिएको छ।
तपाईँहरुलाई याद होला, गएको अप्रिल महिनामा पनि एउटा त्यस्तो प्रश्न दिइएको थियो, जसमा दिइएका चारै अप्सन गलत थिए। प्रश्न थियो- हवाइजहाज राख्ने ठाउँलाई के भनिन्छ? नेपालीमा प्रश्नका जवाफका विकल्पहरुमध्ये एक सही भए पनि खासमा त्यो अङ्ग्रेजी शब्द थियो र अङ्ग्रेजीमा लेखिएका विकल्पहरु मध्ये कुनै पनि सही थिएनन्। खासमा हवाइजहाज राख्ने ठाउँलाई Hanger हैन Hangar भनिन्छ। तर विकल्पमा Hanger थियो।
आइतबारको शोमा भने नेपालीमा प्रश्न सही भए पनि अङ्ग्रेजी अनुवाद गलत थियो।
नेपालमा संकटकालीन अवस्थाको घोषणा गर्ने वा आदेश जारी गर्ने अधिकार कसमा निहित छ?
नेपालको संविधान अनुसार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विश्रृंखलता, प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ।
यो प्रश्नलाई अङ्ग्रेजीमा अनुवाद भने यसरी गरियो-
यसमा who has the right to declare insurgency period in Nepal भनिएछ। खासमा संकटकालको अङ्ग्रेजी अनुवाद emergency हो। शोका प्रोड्युसरको दिमाग भने insurgency मा पुगेछ। यसको अर्थ त an active revolt or uprising हुन आउँछ। जस्तै नेपालमा भएको माओवादी सशस्त्र युद्धलाई insurgency भनिन्छ। दाङमा २०५८ साल मंसिरमा माओवादीले सैनिक ब्यारेकमा आक्रमण गरेपछि तत्कालीन सरकारले लगाएकोलाई भने संकटकाल अर्थात् emergency भनिन्छ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज शोमा प्रश्न नै गलत हुनु त अलि सुहाएन नि। अलि मेहनत गर्नुपर्यो प्रोड्युसरहरुले।
माईसंसारबाट