मुगुकाे दुर्गम गाउँ लिउडीमा पहिलाे पटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित
मुगु – छायाँनाथ रारा नगरपालिका-६ काे विकट गाउँ लिउडीमा पहिलो पटक गाडी पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।
कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलो पटक लिउडीगाउँमा गाडी पुगेको हाे।
गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँमा गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् । छायाँनाथ रारा नगरपालिकाको ६७ लाख रुपैयाँ लगानी र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर याे सडक निर्माण गरिएको जनाइएको छ ।
कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।
सडक उद्घाटन कार्यक्रममा नगरप्रमुख शाहीले चुनावका बेला लिउडी गाउँमा विद्युत् र सडक पुर्याउने वचन दिएकामा कार्यकालको अन्तिममा भए पनि सडक र विद्युत् पुर्याउन सफल भएको बताउनुभयो ।
यहाँका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यबमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी भए पनि सडक पुर्याउने नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकलाई घट्टेलेकसम्म जोडिने र यो सडकलाई नगर रिङरोड बनाइने योजना रहेको बताउनु भयाे ।
रिङरोडका रूपमा नगरपालिकाले विकास गरेमा गमगढी–पिना–बालै–कोटिल्ला–मन्दु–घट्टेलेक–रोवा–सोवा–लुम्स–तिर्प–थार्प–रुगा–बाम–सुम्ती–फुली हुँदै पुनः गमगढीमा सडक घुम्ने छ भने सुनात र सुम्लीमा नगरपालिकाले बेलिब्रिज बनाउनुपर्नेछ ।
‘लिउडीगाउँमा सबैभन्दा बढी आलु र सिमी उत्पादन हुनेगर्छ । यातायात सुविधा नहुँदा आलु, सिमी सदरमुकाम गमगढी बजारसम्म दुई घण्टा बोकेर भए पनि बिक्रीका लागि ल्याउने गरिएको र धेरै कुहिएर जाने गरेको थियो’, स्थानीय हरिलाल सेजुवालले भन्नुभयो, ‘अब गाउँमा गाडी पुगेको छ, धेरै उत्पादन हुने आलु, सिमी बजारीकरणमा सहज हुनेछ । कमाउनकै लागि गाउँका युवा बाहिरी जिल्लामा जानुपर्ने छैन, बरु आलु, सिमीखेतीका लागि उत्साहित हुनेछन् ।’
नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्न बाँकी छ ।