प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली २५ जेठदेखि एक साता लामो युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्विटजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणबारे औपचारिक जानकारी गराएको हो । प्रधानमन्त्री ओली २५ जेठमा स्विटजरल्यान्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारण सभामा सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
त्यसपछि २७ जेठमा बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यस्तै, २९ जेठमा फ्रान्स पुग्ने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नौदिने भ्रमण सकेर प्रधानमन्त्री ओली १ असारमा स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।