चितवन राष्ट्रिय निकुञ्जमा १२ अर्ना मरे, अर्ना नै मासिने चिन्ता
उचित स्याहार र संरक्षण गर्न नसक्दा वंश विस्तारका लागि चितवन ल्याइएको अर्ना मासिने अवस्थामा पुगेको छ ।
पाँच वर्षअगाडि कोसी टप्पु वन्यजन्तु आरक्षण र सदर चिडियाखाना काठमाडौँबाट ल्याइएका १५ वटा अर्नामध्ये अहिले अरू मरेर तीनवटा पोथी अर्नामात्र बाँकी छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। रामचन्द्र कँडेलले चितवन निकुञ्जले राम्रो संरक्षण गर्न नसक्दा अर्नाको संरक्षण हुन नसकेको बताए ।
चितवन ल्याइएको अर्नाले छ वटा पाडापाडी जन्माएर विकास भइसक्दा पनि त्यसलाई संरक्षण र रेखदेख गर्न नसक्दा मर्न गएको भन्दै महानिर्देशक डा। कँडेलले भने,”अर्ना राखिएको स्थानमा मरेको हप्तौँ हुँदासम्म निकुञ्ज प्रशासनलाई जानकारी हुँदैन, त्यसैले अर्नाको उचित संरक्षण हुन सकेन ।”
विक्रम संवत् २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना काठमाडौँबाट तीनवटा अर्ना ल्याएर निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुला खोर बनाएर राखिएको थियो । कोसी टप्पुको जस्तो वासस्थान चितवनमा नभएका कारण बचाउन मुस्किल भएको निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताए । गोरखापत्र दैनिकमा खबर छ । छापाबाट