चुनावले बढी लाभ कांग्रेसलाई हुन्छ तर संविधान मिच्न पाइँदैन : गगन थापा

जनपत्र
६ माघ २०७८, बिहीबार १३:०७

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस क्षणिक लाभका लागि संविधान मिचेर अघि बढ्न तयार हुन नहुने बताएका छन् ।

वैशाखमा संसदीय चुनाव गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा टिप्पणी गर्दै थापाले चुनावले कांग्रेसलाई सबैभन्दा बढी लाभ हुने भए पनि संविधान मिचेर अघि बढ्ने कुुुरा स्वीकार्य नहुने बताएका हुन् ।

“अब हुने चुनावबाट सबैभन्दा बढी लाभ लिने पार्टी नेपाली कांग्रेस नै हो तर, हामीले संविधान मिच्ने कुरा स्वीकार गर्न हुँदैन,” महामन्त्री थापाले बाह्रखरीसँग भने, “हिजो केपी ओलीले संविधान मिच्दा लडेका हामी फेरि संविधान मिच्न र अनुकूल निर्णय लिनका लागि होइन ।”

उनले संविधानको रक्षा गरेर लोकतन्त्र अघि बढाउनुपर्ने भन्दै अहिले स्थानीय तहकै निर्वाचन घोषणा गरेर अघि बढ्नुपर्ने बताए ।

केपी ओली र उनको पार्टी नेकपा एमालेले मिति भन्दाअगावै चुनावमा जाने बहस चाहेको भन्दै उनीहरुको ‘फेस सेभिङ’का लागि बहस गरेर गठबन्धनले समय बर्बाद गर्न नहुने बताए ।

“दुईदुई पटक संसद् विघटन गरेका केपी ओली र उनको पार्टी एमालेले आफ्नो असंवैधानिक कदममा फेस सेभिङ खोजिरहेको छ, यस्तो बेला अग्रिम चुनावको बहस गरेर उनीहरुको असंवैधानिक यात्रामा मतियार बन्न सकिँदैन,” थापाले भने, “गठबन्धनका नेतृत्वको हैसियतमा कांग्रेसले यस्ता बहसलाई स्पेश दिनु एउटा कुरा हो तर, त्यसमै अल्झिएर आफ्नो मूल जिम्मेवारीमा पछि पर्नुहुँदैन ।”

प्रतिपक्षी पार्टीले लिएको असंवैधानिक कदमको भारी कांग्रेसले नबोक्ने पनि स्पष्ट पारे ।

“दुई–दुई पटक संसद् विघटन गरेको एमालेले अदालतबाट पु्नःस्थापित संसद् एक दिन पनि चल्न दिएको छैन, त्यो कुरा हामीले जनतामा लिएर जाने हो, अग्रिम चुनाव भनेर ओलीको असंवैधानिक कदमको भारी हामीले बोक्ने होइन,” थापाले भने, “अहिले स्थानीय तहकै चुनाव गर्ने हो, मंसिरमा संसदीय चुनाव गर्ने हो । असंवैधानिक बाटोमा हिँड्नेलाई पनि संवैधानिक बाटोबाट साइजमा राख्ने हो ।”

महामन्त्री थापाले गठबन्धन पनि अल्झेर बस्न नहुने भन्दै सबै विषयमा आजै निर्णय गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*