मकवानपुरमा एकै दिन २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
हेटौंडा । मकवानपुर जिल्लामा एकै दिन २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पीसीआर परिक्षणबाट एक सय ५५ जना र एन्टीजेन परिक्षणका क्रममा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबै भन्दा धेरै कोरोना संक्रमित हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।
संक्रमण दर बढ्दै गएपछी यसको न्यूनिकरणका लागि नगर प्रहरी मार्फत सचेतना जगाउने काम दिनहुँ भइरहेको मेयर हरि बहादुर महतले बताउनुभयो । संक्रमण दर पछील्ला दिनहरुमा बढ्दा यसले झनै समस्या पारेको मेयर महतको भनाई छ ।
कोरोना नियन्त्रणका लागि लकडाउन भन्दा पनि स्वास्थ्य साबधानी अपनाउनु उपयुक्त हुने उहाँले बताउनुभयो । कोरोना संक्रमणको दर निकै बढ्दै गएकाले नगरवासीहरुले स्वास्थ्य मापदण्डमा ख्याल गर्न पनि मेयर महतले आग्रह गर्नुभयो ।