उपसचिवको ‘कमाइ’ : ८७ ठाउँमा जग्गा, २२ वटा घर

काठमाडौं, भक्तपुर, कास्की, दाङ, कैलाली र कञ्चनपुरका ३२ स्थानको जग्गा, तीन वटा घर र बैंकको १९ लाख रोक्का स्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाइएको सम्पत्ति पनि जफत गर्नुपर्ने अख्तियारको मागदाबी
जनपत्र
४ माघ २०७८, मंगलवार १०:०२

काठमाडौँ — दुई दशकअघि सरकारी सेवा प्रवेश गरेका एक कर्मचारीले पदको दुरुपयोग गरी कमाएको पैसाले पत्याउनै मुस्किल पर्ने गरी ८७ ठाउँमा जग्गारजमिन खरिद गरेका छन् । त्यसबाहेक काठमाडौंमा मात्रै २२ ठाउँमा घर बनाएर बिक्री गरेको र विभिन्न बैंकमा १९ वटा खाता खोलेर लेनदेन गरेको खुलेको छ । २०५५ वैशाख २७ मा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर स्थायी ठेगाना भई हाल सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक ९उपसचिव० हेमराज विष्टले सरकारी सेवा प्रवेश गरेयताको २२ वर्षमा आधा दर्जन जिल्लाका ८७ ठाउँमा पत्नी रुबी जीसी र आफ्ना नाममा जग्गा किनेको भेटिएको छ । मध्यमस्तरको पारिवारिक पृष्ठभूमि रहेका उनले २२ वर्षमा कमाएका सम्पत्तिको विवरण खोज्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई एक वर्ष लाग्यो ।

अख्तियारले विष्टको सम्पत्तिमाथि २०७७ असोजबाट अनुसन्धान थालेको थियो । विष्ट दम्पतीविरुद्ध अख्तियारले पुस २१ मा ६ करोड ८७ लाख ५७ हजार बिगो र स्रोत नखुलेको जग्गाजमिन जफतको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । विशेष अदालतमा न्यायाधीश रिक्त हुँदा इजलाससम्म यो मुद्दा पुगिसकेको छैन । अख्तियारले सुरुमा सुदूरपश्चिम प्रदेश वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको अनियमिततामाथि अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा विष्टको सम्पत्ति छानबिनको माग गर्दै छुट्टै उजुरी परेको थियो । वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको अनियमितताबारेको अनुसन्धान अझै टुंगिएको छैन । त्यसभन्दा अघि नै अख्तियारले विष्ट दम्पतीविरुद्ध अकुत सम्पत्तिको मुद्दा दायर गरेको हो ।

अख्तियार दुई जना अनुसन्धान अधिकृत खटाएर विष्टको सम्पत्ति खोजबिनमा जुटेको थियो । त्यसक्रममा हेमराजले सेवा प्रवेश गरेको पाँच महिनापछि २०५६ असोज ६ देखि २०७७ असोज १८ को अवधिमा काठमाडौं, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्कीलगायत जिल्लाका ८७ ठाउँमा जग्गा खरिद गरेको भेटिएको थियो । उनले २०७१ र २०७४ मा सबैभन्दा बढी ८र८ ठाउँमा जग्गा जोडेको देखिन्छ । उनी २०७१ मा प्यूठान र २०७४ मा सुर्खेतको जिल्ला वन अधिकृत थिए । सुर्खेतमा २०७२ जेठदेखि २०७५ असोजसम्म बसेका उनले त्यस अवधिमा काठमाडौंसहित १९ ठाउँमा जग्गा किनेको भेटिएको छ । २०७५ देखि २०७७ को ३ वर्षमा १५ ठाउँमा जग्गा किनेका उनी त्यसबीचमा जिल्ला वन कार्यालय कैलाली, जिल्ला वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र धनगढी र वन निर्देशनालय धनगढीमा कार्यरत थिए ।

उनले बाँकी जग्गा २०५६ देखि २०७० को बीचमा हरेक वर्ष खरिद गरेका देखिएको छ । त्यसमध्ये ५५ ठाउँको जग्गा बेचिसकेका छन् । काठमाडौंको कपन र चुनिखेलमा २२ वटा घर बनाएका उनले १९ वटा बेचिसकेका छन् भने ३ वटा घर पत्नी रुबीका नाममा राखेका छन् । त्यतिमात्र होइन, काठमाडौं, भक्तपुर, दाङ, कैलालीलगायत ३२ ठाउँमा अझै करोडौं मूल्य पर्ने जग्गा आफू र पत्नी रुबीका नाममा राखेका छन् । काठमाडौंको कपनमा मात्रै उनको नाममा १२ ठाउँमा जग्गा छ भने कपन र महांकाल क्षेत्रमा २२ वटा घर बनाएको पाइएको छ । त्यस्तै चपलीमा आठ ठाउँमा जग्गा छ । उक्त सम्पत्ति आफू सरकारी सेवा प्रवेश गर्नुअघिको बचत र त्यसपछिका सेवा–सुविधालगायतबाट किनेको विष्टको जिकिर छ । तर, उनको जिकिर पत्याउनै नसकिने अख्तियारको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । ‘आरोपितले नै आफू सरकारी सेवा प्रवेश गरेपछि स्वआर्जित घरजग्गा विवरणअन्तर्गत २२ वटा घर बनाएको, त्यसमध्ये १९ वटा बेचेर ३ वटा भाडामा लगाएको, ८७ ठाउँमा जग्गाजमिन किनेकोमा ३२ स्थानको राखेर अरू बिक्री गरेको देखाएका छन्,’ अख्तियार स्रोतले भन्यो, ‘१९ वटा बैंक खाता खोलेका छन्, पैत्रिक सम्पत्ति पनि उल्लेख गर्ने किसिमको नरहेकाले सरकारी सेवा प्रवेश गरेपछि आर्जित जग्गाजमिन वैध स्रोतबाट किनेको कुनै पनि हालतमा देखिँदैन ।’

२०७५ भदौ १ अघिसम्म जिल्ला वन अधिकृतलाई वन र वन्यजन्तुसम्बन्धी अपराधको मुद्दा छिन्ने अधिकार थियो । उनी सातपटक जिल्ला वन अधिकृत भए । वन अधिकृतलाई वनसम्बन्धी मुद्दा छिन्ने अर्धन्यायाधिक अधिकार हुन्छ । त्यस अवधिमा विष्टले मुद्दा प्रभावित बनाउन आर्थिक मोलमोलाइ गरेको हुन सक्ने अख्तियारका अनुसन्धान अधिकृतले बताए । अवैध सम्पत्तिलाई वैध बनाउन विष्टले विभिन्न व्यक्तिलाई १ करोड ४० लाख रुपैयाँ सापटी दिएको जनिने ‘कपाली तमसुक’ अख्तियारमा पेस गरेका छन् । तर, सम्पत्ति वैध बनाउने आशयले त्यस्तो कागज बनाइएको अख्तियारको ठहर छ । घर बहालबाट पाएको भनी ३३ लाखभन्दा बढी रकमको विवरण पेस गरेकामा ११ लाख १६ हजारको मात्रै घर बहाल लिएको वैध स्रोत खुल्छ । उनले अकुत सम्पत्ति वैध बनाउनकै लागि काठमाडौंमा बस्ने पत्नी रुबीलाई धनगढीको एक नर्सरीको कर्मचारी भएको र त्यसबाट आकर्षक तलब भत्ता आउने उल्लेख गरेका छन् ।

‘करोडौंको आर्थिक कारोबार गर्ने मानिस नर्सरीमा कार्यरत कर्मचारी भनेर कसरी पत्याउने रु त्यो पनि काठमाडौंमा बस्ने मानिस धनगढीमा कार्यरत भएको भनेर स्वीकार गर्न सकिन्छ र रु यो त अवैध सम्पत्ति वैध बनाउन गरिएको प्रपञ्च मात्रै हो,’ अख्तियारका एक अधिकारीले भने । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार सरकारी सेवा प्रवेशपछि विष्ट जहाँ–जहाँ सरुवा भएर जान्थे, त्यहीं–त्यहीं जग्गा किनेको देखिन्छ । काठमाडौंका दुई ठाउँमा त सासू–ससुराका नाममा समेत जग्गा किनेर पछि बकस पास गरी आफ्नो नाममा ल्याएको भेटिएको छ । यो सम्पत्ति लुकाउन गरिएको योजना रहेको ती अधिकारीले बताए । विष्टले आफ्नो सम्पत्ति विवरणमा विवाहमा गोडा धुँदा ४ लाख रुपैयाँ जम्मा भएको देखाएका छन् । तर, अख्तियारले त्यसलाई स्वीकार गर्न नसकिने भनेको छ । उनी सेवा प्रवेश गरेदेखि सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा भएको बाहेक २०७७ असोजसम्म तलबरभत्ता, भ्रमण तथा दुर्गम भत्तालगायतमा ४९ लाख २५ हजार १ सय १९ रुपैयाँ आम्दानी भएको देखिन्छ । त्यसमा अख्तियारले जीवन निर्वाह खर्चका लागि एकमुष्ट ३० प्रतिशत कट्टा गरेर बाँकी रहेको ३४ लाख ४७ हजार ५ सय ८३ रुपैयाँलाई बचत आयका रूपमा राखेको छ ।

अख्तियार स्रोतका अनुसार विष्टले खरिद गरेका जग्गाजमिनको अहिलेको बजारभाउ एक अर्ब रुपैयाँ नाघ्छ । उनी सरकारी सेवा प्रवेश गर्दा बुबा दयानन्द विष्ट गाउँमै खेतीकिसानी र पुरोहितको काम गर्थे । विष्ट मानोचामल लिएर अलग भए पनि पैतृक सम्पत्ति अझैसम्म अंशबन्डा भएको छैन । अख्तियारले गोप्य अनुसन्धान अघि बढाएपछि पनि उनले जग्गा खरिदलाई निरन्तरता दिएका थिए । जग्गा किने वा घूसबापत लिए भन्ने त अख्तियारले केही खुलाएको छैन तर विष्टले गैरकानुनी रूपमा सम्पत्ति जोडेको आधार नै काठ तस्करी र वन्यजन्तु तस्करीमा जोडिएका मानिससँगको हिमचिम, उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीको फर्जी हस्ताक्षर गरेर रकम भुक्तानी, नक्कली वन उपभोक्ता समिति बनाएर रकम हिनामिना रहेको अख्तियार स्रोतले बताएको छ । आफूविरुद्ध उजुरीको ९ दिनपछि असोज १८ मा विष्टले दाङका गढवा र चौलाहीमा दुई ठाउँमा जग्गा किनेका थिए । उनको पहिलो पोस्टिङ नै दाङमा भएको थियो । दाङमा मात्रै १५ ठाउँमा उनको जग्गा भेटिएको छ ।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयको निमित्त प्रमुख रहेका विष्टले कैलालीमा ७ ठाउँमा जग्गा जोडेका छन् । त्यसमध्ये कैलालीको गोदावरीमा २०७६ चैत ११ मा १३ बिघा जग्गा किने । जसको मूल्य अस्वाभाविक रूपमा कम देखाएर २ लाख १६ हजार ६ सय ६७ कायम गरिएको छ । अख्तियार स्रोतका अनुसार उनी र पत्नी रुबीका नाममा दाङमा १५, कास्कीमा ३, काठमाडौंमा ४८, कञ्चनपुरमा ४, कैलालीमा ७ र भक्तपुरमा ९ ठाउँमा जग्गा छ । ३ वटा घर भाडामा लगाएका छन् । कान्तिपुर दैनिकबाट यो समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*