सुकेटार विमानस्थल स्तरवृद्धिको काम ८५ प्रतिशत सकियो
ताप्लेजुङ – ताप्लेजुङको सुकेटार विमानस्थल स्तरवृद्धिकाे काम ८५ प्रतिशत सकिएकाे छ । कोभिड–१९ को सङ्क्रमण जाेखिम रहेकाे अवस्थामा पनि विमानस्थल स्तरवृद्धिको काम भइरहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । त्याे बजेटको ठेक्कामार्फत निर्माण गर्नलाई बोलपत्र आह्वान गर्दा खड्का कृष्ण/बङ्गलामुखी जेभी कन्स्ट्रकशनले आठ करोड ९९ लाख ५० हजार तीन सय ४९ रुपैयाँमा ठेक्का पारेको थियो ।
ठेक्का पारेपछि जेभी कन्स्ट्रकशनले स्तरवृद्धिको काम सुरु गरेको र अहिलेसम्ममा ८५ प्रतिशत प्रगति गरेको याे आयोजनाको काम हेरिरहनुभएका सुकेटारमा रहेकाे नेपाल नागरिक उड्डयन कार्यालयका वरिष्ठ अधिकृत सुजन गिरीले टेलिफोनमार्फत बताउनुभयो ।
काम सुरु भएको दुई वर्ष अर्थात् २०७८ साल असोजभित्रमा सक्नुपर्ने भए पनि काेराेनाका कारण ६ महिना अर्थात् चैत्रसम्म म्याद थपिएको छ ।
ठेकेदार कम्पनीका प्रमुख भीमसेन भण्डारीका अनुसार विमानस्थलको पूर्वतर्फ रहेको डाँडालाई सम्याउने काम सकिएको छ । त्यस्तै ग्याबिन तार, ड्रेन निर्माण लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो ।
अब धावन मार्गलाई कालाेपत्र (पिच) गर्ने काम मात्र रहेको उहाँले जानकारी दिनुभयो । अहिले अत्यन्तै चिसो भएका कारण पिच गर्न समस्या भएको र माैसम तातो हुनासाथ त्याे काम गरेर प्राधिकरणलाई बुझाउने भण्डारीले बताउनुभयो । धावन मार्ग पिच गर्न ग्राभेल गरी ठिक्क पारेको उहाँकाे भनाइ छ ।






