दाङ : तुलसीपुर चक्रपथ निर्माण कार्य अलपत्र
दाङ – तुलसीपुर उपमहानगरमा वडालाई जोड्ने गरि निर्माण हुने भनिएको चक्रपथको काम अलपत्र परेको छ ।
एक दशक अगाडि नै रेखांकन भएको तुलसीपुरको चक्रपथ निर्माणको काम डेढ किलोमिटर कालोपत्रेमै सीमित भएको छ । साविकमा तुलसीपुर नगरपालिका हुँदा चक्रपथ निर्माणको लागि रेखांकन तथा व्यवस्थापन समिति गठन भएको थियो ।
तर, पछिल्लो समयमा चक्रपथको काम प्राथमिकतामा परेको छैन । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएपछि अरु केही गाविस गाभिएका कारण काम रोकिएको थियो । जनप्रतिनिधिले चक्रपथ निर्माणको काम सुरु गरे पनि पछिल्लो समय कामले गति लिन नसकेको हो ।
तुलसीपुर–७ राजापुरदेखि आँखा अस्पताल रक्षाचौर हुँदै तुलसीपुरको वडा नम्बर–३ डाँडाखुटी हुँदै टिकरी र तुलसीपुर–१२ को टरिगाउँ हुँदै फेरि राजापुर जोडिने चक्रपथको नक्सांकन गरिएको थियो ।
तत्कालीन अवस्थामा काठमाण्डौको एक कन्सल्टेन्सी आरडीसीले सम्भाव्यता अध्ययन पूरा गरेको चक्रपथले साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी झण्डै ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भनिएको थियो । तर अहिले २९ किलोमिटर लामो र ३० मिटर चौडाइमा चक्रपथ निर्माण गर्ने गरी काम अगाडि बढेको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणका प्रमुख इन्जिनियर पवन योगीले बताउनुभयो ।
उहाँका अनुसार चक्रपथ निर्माण हुने ठाउँमा पहिले केही कच्ची बाटो निर्माण भएका र पछि सबै वडाहरुमा ट्रयाक खोलिए पनि चक्रपथ निमार्णका लागि अन्य कामहरु अघि बढ्न सकेको छैन ।
तुलसीपुरमा चक्रपथ निर्माण भए सबै वडामा सडक र समान विकास पुग्ने भएपनि पछिल्लो समयमा उपमहानगरपालिका हुँदा तुलसीपुरमा बाहिरी र भित्री चक्रपथ निर्माणको बहस पनि उठेको थियो ।