मन्त्रालय धेरै बनाउँदा खर्च बढेपनि त्यसको नतिजा राम्रो ल्याउछौ–मुख्यमन्त्री पाण्डे
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग क्षेत्रको विकास गर्न उद्योग तथा वाणिज्य मन्त्रालय बनाइएको बताउनुभएको छ ।
सोमबार उद्योग संघ मकवानपुरको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले उद्योग, वन र पर्यटन तीन वटा कुरालाई जोड्दा पर्यटनमा बढी ध्यान जाने र उद्योगमा ध्यान नै नजाने भएकोले छुट्टै मन्त्रालय बनाइएको बताउनुभयो । मन्त्रालय धेरै बनाउँदा खर्च बढेपनि त्यसले नतिजा राम्रो ल्याउने र ल्याउनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
यस्तै उहाँले प्रदेश सरकार अहिले कृषि औजारको उत्पादन र कृर्षी क्षेत्रको विकासको लागी केन्द्रित रहेको पनि बताउनुभयो । साधारणसभाको अवसरमा संघले विभिन्न क्षेत्रका ६ जनालाई सम्मान समेत गरेको छ । संघले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डे, महिला उद्यमी विद्या गिरी, संघका उपाध्यक्ष राजेन्द्र कँडेल, सदस्य बजरंग सिंह तमोर र पत्रकार बालकृष्ण अधिकारीलाई सम्मान गरेको हो ।
सबैलाई जनही १०–१० हजार रुपैयाँसहित सम्मान गरिएको हो । संघका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्याक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य ईन्दबहादुर बानियाँको पनि आतिथ्यता रहेको थियो ।