निजी क्षेत्रलाई पनि बिजुली व्यापारकाे अनुमति दिने तयारीमा छाैँ : मन्त्री भुसाल

जनपत्र
२६ पुष २०७८, सोमबार १६:३७

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ ।

आज सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले काठमाण्डाैमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुर्‍याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसकाे अनुमति दिने तयारी गरेको बताउनुभएको हो ।

सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारका लागि अनुमति दिइसकेको पनि मन्त्री भुसालले बताउनुभयो । निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिकाे खाका तयार गरिरहेको उल्लेख गर्दै उहाँले सरोकारवाला निकायसँग पनि छलफल गरिने उल्लेख गर्नुभयाे ।

मन्त्री भुसालले भन्नुभयो, ‘भर्खरै सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि अनुमति दिने तयारीमा छ । बिजुली व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता बिजुली खपतलाई बढाउँदै लैजानु भएको बताउनुभयो । देशको समृद्धिका लागि बिजुलीकाे उत्पादन र खपत बढाउनुपर्नेमा उहाँको जोड छ । देशको प्रतिव्यक्ति बिजुली खपत न्यून रहेकाले कम्तीमा त्यसलाई सात सय युनिट पुर्‍याउनुपर्ने मन्त्री भुसालले भन्नुभयाे ।

उहाँले भन्नुभयो, ‘हामीले चाहेको समृद्धिका लागि बिजुली उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्दछ । यसका लागि हाम्रो आन्तरिक बिजुली खपत झन्डै पाँच हजार मेगावाट पुर्‍याउनुपर्दछ । अहिले हाम्रो पिक आवरको बिजुली झन्डै १६ सय ५० मेगावाट रहेको छ ।’

बिजुली खपतलाई बढाउनका लागि सरकारले विद्युतीय चुलाेकाे प्रयोग र विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*