राष्ट्रिय सभा चुनाव : उम्मेदवारलाई चुनाव चिह्न दिइयाे
काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज आइतवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।
आउने माघ १२ गते हुने चुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिएको हो । राष्ट्रिय सभा सदस्य चुनावमा सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।
आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो ।
त्यसैगरी राप्रपाका उम्मेदवारलाई हलो, जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवारलाई साइकल, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई मादल र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई गिलास चिह्न प्रदान गरिएको छ ।