प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता : संसद्को अवरोध हटाउने र एमसीसी अगाडि बढाउने विषयमा छलफल

जनपत्र
२४ पुष २०७८, शनिबार १४:०४

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको थियो । भेटमा मुख्य गरी संसद्को अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको विषयलाई लिएर संसद् चल्न दिएको छैन । संसद्को बैठक पुस २८ गते बुधवारका लागि बोलाइएको छ । प्रधानमन्त्री देउवा र ओलीबीच भएको आजको भेटमा अमेरिकी सहायता परियोजना एमसीसी अगाडि बढाउने विषयमा पनि छलफल भएको बुझिएको छ।

सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा नेकपा एमालेसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । गठबन्धन समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ओलीसँग छलफल गर्न प्रधानमन्त्री आज बालकोट पुग्नुभएको हो ।

यसअघि प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत ओली सहभागी हुनुभएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*