काठमाण्डौको मौसम धुम्म, बेलुका हल्का पानी पर्ने
काठमाण्डाै – काठमाण्डौ उपत्यकाको मौसम धुम्मिएको छ । बिहान एकै छिन् घाम लागे पनि फेरि बादल लागेको छ । मौसमविद् राजु प्रधानांगकाअनुसार काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश २ मा मौसम धुम्मिएको छ ।
वाग्मती र गण्डकी प्रदेशको धेरैजसो क्षेत्रमा बादल लागेको छ भने लुम्बिनीको पूर्वी क्षेत्र र प्रदेश २ को पश्चिमी क्षेत्रमा बादल लागेको मौसमविद् प्रधानांगले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा बादल आउने क्रम बढेकाले आज मौसम खुल्ने सम्भावना खासै नभएको उहाँले बताउनुभयो । तर, दिउँसो तीन, चार बजे भने केहीबेर मलिनो घाम लाग्न सक्ने अनुमान छ ।
आज बेलुका काठमाण्डौ उपत्यकामा हल्का पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् प्राधानांगले बताउनुभयो । अहिले देशको पूर्वी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा भईरहेको छ । भोली र पर्सी पनि देशका केही ठाउँमा हल्का पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद्ले बताएका छन् । भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । अस्ति बुधबारदेखि देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यो प्रणाली गएको हप्ताकोजस्तो शक्तिशाली नभएकाले ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् ।