पिसाब चुहिने समस्या र समाधानका उपाय

अनुषा घिमिरे
१७ जेष्ठ २०७६, शुक्रबार ०६:५९

एक ६३ वर्षकी महिलाले दुई वर्षअघि आफ्नो पाठेघर निकालेकी थिइन्।  . अहिले उनलाई ६ महिनादेखि पिसाब चुहिने समस्याले सताइरहेको छ।

एक ३८ वर्षकी महिला जसको तीन वटा बच्चा छन्, उनलाई एक वर्षदेखि भारी सामान उठाउँदा वा खोक्दा पिसाब चुहिने समस्या देखापरेको छ।

के हो पिसाब चुहिने समस्या?
अनियन्त्रित रुपमा पिसाब चुहिने वा नथामिने समस्यालार्ई चिकित्सकीय भाषामा युरिनरी इन्कन्टिनेन्स भनिन्छ। यो एउटा रोग होइन तर यस्तो समस्या हो, जसले हाम्रो दैनिक कार्यमा अप्ठेरोेपना ल्याइदिन्छ र सामाजिक कार्यक्रममा भाग लिनसमेत बञ्चित गराउँछ।

विश्वभरि १८ वर्ष र त्यसभन्दा माथि उमेर भएकाहरुमा पिसाब चुहिने समस्या देखिएको पाइन्छ र पुरुषको दाँजोमा महिलामा यो समस्या बढी हुन्छ।

चुहिने समस्याका तीन प्रकार
स्ट्रेस इन्कन्टिनेन्स
पेटमा बल लाग्ने कुनै पनि कार्य गर्दा यदि पिसाब चुहिन्छ भने त्यो समस्यालाई स्ट्रेस इन्कन्टिनेन्स भनिन्छ। सबैभन्दा बढी मात्रामा देखिने पिसाब चुहिने प्रकार नै स्ट्रेस इन्कन्टिनेन्स हो।
पिसाब थैलीबाट योनीसम्म एउटा नली हुन्छ, जसलाई युरेथ्रा भनिन्छ। कम्मर भित्रको मांसपेसी अर्थात् पेल्विक फ्लोर मांसपेसी कमजोर वा खुकुलो भयो भने युरेथ्रालाई राम्ररी बन्द गर्न सक्दैन। यो अवस्थामा हाँस्दा, उफ्रँदा वा भारी समान उचाल्दा पिसाब थैलीमा जोर पर्छ र पिसाब चुहिन्छ।

अर्ज इन्कन्टिनेन्स
यो समस्या पिसाब थैली अधिक सक्रिय हुने महिलामा पाइन्छ। छोटो अवधिमै पिसाब फेर्न हतार लाग्छ र रोक्न गाह्रो हुन्छ, जसका कारणले शौचालय नपुग्दै अनियन्त्रित रुपमा पिसाब चुहिन्छ। स्वयं पिसाब थैलीको रोग वा नशा रोगको कारणले र बढ्दो उमेरसँगै पिसाबथैली आधिक सक्रिय हुन्छ।

मिक्स्ड इन्कन्टिनेन्स
कतिपय व्यक्तिहरुमा भने दुवै प्रकारको पिसाब चुहिने समस्या देखिन्छ।

निम्न रोग वा अवस्थामा पिसाब चुहिने समस्या बढी देखिन्छः

–    बढ्दो उमेर
–    वंशानुगत
–    गर्भावस्था
–    योनीद्वारा प्रसूति
–    पाठेघर निकालेपछि
–    रजस्वला रोकिएपछि
–    मोटोपना
–    स्नायु वा नशा रोग
–    मधुमेह
–    पिसाबको संक्रमण
–    आन्द्राका रोगहरु

प्राथमिक उपचार
कसरत
कम्मर भित्रको मांसपेसी अर्थात् पेल्विक फ्लोर मांसपेसीलाई बलियो बनाउनु नै पिसाब चुहिने समस्याको प्राथमिक उपचार हो। पिसाब फेर्दै गर्दा बीचमा रोक्ने जसबाट बिरामीले आफ्नो पेल्विक फ्लोर मांसपेसीको खुम्च्याई पहिचान गर्नसक्छ।

एकपटक पहिचान भइसकेपछि बिरामीले सो मांसपेसीलाई कम्तीमा १० सेकेन्ड खुम्च्याइराख्ने र छोड्ने गर्नुपर्छ। जति धेरै ग¥यो, त्यति चाँडो यो मांसपेसी बलियो हँुदै जान्छ। बिरामीको अवस्था हेरेर यो कसरत सुतेर, बसेर वा उभिएर जुन आसनमा पनि गर्न सकिन्छ।

विधुतीय तरंग
कतिपय अवस्थामा दुखाइले, कमजोरीपनाले वा अज्ञानताले बिरामीले पेल्विक फ्लोर मांसपेसी खुम्च्याउन सक्दैनन्। यस्तो अवस्थामा विधुतीय तरंगले मांसपेसीलाई खुम्च्याउन मद्दत गर्छ। यसको निम्ति विशेष उपकरणको प्रयोग गरिन्छ, जसलाई योनीभित्र राखेर मांसपेसीलाइ सञ्चालित गर्न सकिन्छ। करिब १ हप्ताको प्रयोगपछि बिरामी स्वयंले मांसपेसी खुम्च्याउन सक्छ।

पिसाब थैलीको तालिम
पिसाब थैलीको तालिम एउटा व्यावहारिक उपचार हो, जुन बिरामीको शिक्षा र पिसाब फेर्ने तालिकासित सम्बन्धित छ। यो तालिमले अर्ज इन्कन्टिनेन्स समस्याबाट पीडित बिरामीहरुलाई सहायता गर्नसक्छ र चाँडै पिसाब फेर्नुपर्ने अवस्थामा रोक लगाउँछ।

सबैभन्दा पहिला बिरामीले दिनमा कति पटक र कुन समयमा पिसाब फेर्न शौचालय जानुपर्छ भनी डाइरी वा तालिका बनाउनुपर्छ। सुरुमा कम्तीमा ६० मिनेट पिसाब रोक्ने क्षमता बसाल्न सकियो भने विस्तारै पिसाब फेर्ने अवधि बढाउँदै जानुपर्छ, नत्र अझै कम अवधिबाट पनि सुरु गर्न सकिन्छ।

तोकेको अवधिभन्दा कम समयमै पिसाब आए लामोलामो श्वास फेरि आफूलाई शान्त पार्नुपर्छ र बेलाबेलामा पेल्विक फ्लोर मांसपेसीको कसरत पनि गर्नुपर्छ।

यी सबै उपचार विधिहरु फिजियोथेरापिस्टसँग सिक्न सकिन्छ। कुनै पनि रोगको प्राथमिक उपचार सकेसम्म सजिलो र बिना साइड इफेक्ट हुनुपर्छ। साधारण कसरतबाट नै निको हुने यो समस्यालाई समयमै पहिचान नगरे अथवा हेल्चेक्र्याइँ गरेमा पछि यसले जटिल रुप लिनसक्छ, जसमा बिरामीहरुले विभिन्न औषधि र शल्यक्रिया अपनाउनुपर्ने हुन्छ।
स्वास्थ्य खबरबाट

(फिजियोथेरापिस्ट घिमिरे मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्) 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*