हुम्ला जिल्ला अस्पतालमा टुकी बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्थाकाे अन्त्य
हुम्ला – हुम्ला जिल्ला अस्पतालमा ५० किलोवाटको ‘जेनेरेटर’ सञ्चालनमा आएको छ । जिल्लामा विद्युत् नियमित नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए ।
जेनेरेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विद्युत् आपूर्ति नियमित नहुँदा उपचारमा बाधा पुगिरहेको थियो, जेनेरेटर जडान गरी सञ्चालनमा आएसँगै अस्पतालबाट चौबीसैँ घण्टा सेवा प्रवाह गर्न सहज भएको छ।’
उहाँका अनुसार कर्णाली प्रदेश सरकारको विशेष सहयोगअन्तर्गत ६२.५ केभीए क्षमताको जेनेरेटर जडान गरिएको हो।
यसअघि विद्युत् अभावले सुत्केरी गराउन तथा शल्यक्रिया गर्न समस्या हुनुका साथै भिडियो एक्सरे तथा सिटीस्क्यान गर्नसमेत बाधा पुगिरहेको थियो । अस्पतालले अत्यावश्यक कामका लागि जेनेरेटर चौबीसैँ घण्टा सञ्चालन गर्ने जनाएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाबाट नियमित विद्युत् आपूर्ति नहुँदा यसअघि बत्ती हेरेर स्वास्थ्योपचार गर्नुपर्ने बाध्यता थियो।
जेनेरेटरको लागि बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सामाजिक विकास मन्त्रालयलाई विशेष निर्देशन दिनुभएको थियो ।
मुख्यमन्त्री नियुक्त भएपछि जिल्ला अस्पताल हुम्लामा पुग्दा उहाँसमक्ष अस्पतालले विद्युतकाे समस्याले सेवा प्रवाहमा समस्या रहेकाले त्यसको विकल्प दिन माग गरेको थियो ।
खरिददेखि ढुवानी जडानसम्म गरी झण्डै २४ लाख रुपैयाँमा जेनेरेटर सञ्चालनमा आएको जनाइएको छ ।