राजेशपायलमाथि भएको दुर्व्यवहारको कलाकारहरूद्वारा खेद व्यक्त

जनपत्र
१९ पुष २०७८, सोमबार ०६:२७

चर्चित गायक राजेश पायल राईमाथि अमेरिकामा गत शुक्रबार कार्यक्रमको सिलसिलामै स्टेजमा भएको दुर्व्यवहारको कलाकर्मीहरुले खेद ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरुले आयोजकको कमजोरीका कारण कलाकारमाथि हातपात भएको भन्दै खेद व्यक्त गरेका हुन् ।

गायक प्रमोद खरेलले आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै अमेरिकाको न्यूयोर्कमा कार्यक्रमको सिलसिलामा राजेश पायल राईमाथि भएको दुर्व्यवहार अत्यन्त खेदजनक र आपत्तिजनक भएको बताएका छन् । ‘कार्यक्रम व्यवस्थापनको कमजोरी त देखियो नै, तर हामी नेपाली समुदायका भेला, गोष्ठी, कार्यक्रम माथि नै प्रश्न उठ्न सक्ने यस्ता घटनाले पक्कै पनि राम्रो सन्देश दिँदैन’ उनले भने ।

त्यस्तै हास्य कलाकार केदार घिमिरेले वरिष्ठ गायक राजेश पायल राई माथि भएको दुर्व्यवहार अशोभनीय भएको बताए । लोक तथा दोहोरी गायक प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायक राईमाथि भएको अशिष्ट, अभद्र र अमर्यादित व्यवहारको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले घोर निन्दा र भत्र्सना गरेको बताएका छन् । उनले आयोजक समक्ष घटनाको सत्यतथ्य बाहिर ल्याउन समेत माग गरे ।

यस्तै लोकगायक विमल डाँगीले दर्शक,आयोजक र सुरक्षाकर्मीका अगाडि कलाकार माथि दुर्व्यवहार हुनु भनेको आयोजकको कमजोरी भएको बताएका छन् । उनले कलाकार माथि हातपात गर्ने व्यक्तिलाई सार्वजनिक गर्न माग समेत गरेका छन् ।त्यस्तै लोकदोहोरी गायक तथा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘मैले थाहा पाए र बुझेअनुसार दुर्व्यवहार गर्ने व्यक्ति फ्यान हुन्’ खनालले भने, ‘सम्मान जनाउन जाँदा अपमानजनक व्यवहार भयो ।’ कुनै पनि कलाकार माथि स्टेजमा त्यस्तो घटना हुनु दुःखद भएको खनालले बताए ।

कलाकार उमेश राई ‘फुलन्देकी आमा’, गायक तथा संगीतकार थानेश्वर गौतम लगायत थुप्रै कलाकर्मीले गायक राईमाथि अमेरिकामा भएको घटनाको निन्दा गरेका छन् ।

के थियो घटना ?
गायक राजेशपायल राईमाथि शुक्रबार न्युयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङदावा शेर्पा नाम गरेका व्यक्तिले स्टेजमै चढेर दुर्व्यवहार गरेका थिए । स्टेजमा सांगीतिक प्रस्तुति दिइरहेका राईमाथि शेर्पाले हातपात गर्दै घाँटी निमोठेका थिए । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कार्यक्रममा राईमाथि हातपात भएको भिडियो सामाजिक सञ्जालबाट समेत भाइरल भएको थियो ।

घटना पछि राईले के भने ?

घटनापछि गायक राजेशपायल राईले कार्यक्रममा बोल्दै आफु कहिलै हार्न र भाग्न नजानेको बताएका छन् । कार्यक्रमको सिलसिलामा आफूमाथि स्टेजमै कुटपिट भएपनि सहज रुपमा लिँदै उनले भने, ‘मलाई त्यो देशको माटोले जन्माएको ब्यक्ति हो । जुन देशको माटो छुँदा पनि स्वर्ग पुगेको अनुभूति हुन्छ । त्यो देश हो नेपाल । त्यो देशलाई कसैले हराउने दुस्साहस गर्दैछन् ।’ कार्यक्रममा उनले घटना बिर्सिएर रिस राग छोडेर अगाडि बढ्न समेत सबैलाई आग्रह गरे । ‘दर्शकको आर्शिवाद आफ्नो लागि सबथोक हो’ उनले भनेका छन् । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*