देशभर जलपक्षी गणना : ३ सय ५० गणक खटिए
काठमाण्डाै – देशभर जलपक्षी गणना सुरु भएको छ । हरेक वर्ष जनवरीको पहिलो शनिवारदेखि जनवरीकै तेस्रो शनिवारसम्म जलपक्षी गणना हुने गरेको छ ।
पाँच ठूला सिमसार क्षेत्र कैलालीको घोडाघोडी, कपिलवस्तुको जगदीशपुर, चितवनको बीस हजारी, पोखराको फेवाताल र कोशीटप्पुसहित अन्य तालतलैया र नदी क्षेत्रमा जलपक्षीको गणना गरिने चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो ।
गणनाका लागि तालिमप्राप्त गणकसहित ३ सय ५० जना खटिएका पनि उहाँले बताउनुभयो । अहिलेको गणनालाई आधारित मानेर प्रतिवेदन तयार पारिने र यो प्रतिवेदन आउँदो जुनमा सरकारलाई बुझाइने छ ।
प्रतिवेदनले चरा संरक्षणका कार्यक्रम र नीति बनाउन सहयोग पुर्याउने चराविद्को भनाइ छ । यस्तै, गणनाले बासस्थान र आहाराको अवस्थाका बारेमा थाहा हुनेछ । गणनामा नेपालमा रैथानेसहित जाडो छल्न आएका चरा समेटिने छन् । जलपक्षी गणनामा रैथाने जातभन्दा पनि आयातीत चरा धेरै हुन्छन् ।
नेपालका रैथाने ३० प्रतिशत र जाडो छल्न विदेशबाट आएका ७० प्रतिशत चरा गणनामा समेटिने चराविद् बरालले बताउनुभयो ।
वेटल्यान्ड इन्टरनेसनलको संयोजन र हिमाली प्रकृतिको समन्वयमा जलपक्षी गणना सुरु भएको हो । नेपालमा हरेक वर्ष १ सय ५० भन्दा धेरै प्रजातिका चरा आउँछन् ।