बागमतीमा टुक्रा पारिएका मन्त्रालयमा काम अगाडी बढ्न सकेन

मुख्यमन्त्री राजेन्द्र पाण्डेले विभाजित गरिएका मन्त्रालयका लागि साघुरो ठाउँ त्यसमा पनि सचिब र अरु कर्मचारी समेत नहुँदा काम अगाडी बढाउन झनै समस्या भएको छ ।
जनपत्र
१८ पुष २०७८, आईतवार ०९:५७

हेटौंडा । बागमती प्रदेशमा पहिलेको एउटै मन्त्रालयलाई तीन टुक्रा पारिएका मन्त्रालयमा काम अगाडी बढ्न सकेको छैन । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विभाजित गरिएका मन्त्रालयका लागि साघुरो ठाउँ त्यसमा पनि सचिब र अरु कर्मचारी समेत नहुँदा काम अगाडी बढाउन झनै समस्या भएको छ । थोरै कर्मचारी, साधन श्रोतको अभाब, बजेट चलाउनका लागि समस्या र काम गर्ने अरु मातहतको कार्यालय नहुँदा समस्या भएको कर्मचारीहरु बताउँछन् । धेरैमा मन्त्रालयका सचिब सहित कर्मचारीको अभाब छ ।

खटाइएका कर्मचारीले पनि काम गर्नका लागि मेलोमेसो नहुँदा थप समस्या भएको कर्मचारीहरु बताउँछन् । बिभाजन गरिएका प्रदेशका तीन वटा मन्त्रालयमा सचिब आउनै बाकी रहेको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रमेश उपाध्यायले जानकारी दिनुभयो । अरु पनि बिभाजन गरिएका मन्त्रालयमा कर्मचारीहरु भने काजमा पठाइएको उहाँले बताउनुभयो । संघीय सरकारले खटाएका सचिब पनि यहाँका मन्त्रालयमा आउन मानिरहेका छैनन् ।

मन्त्रालयमा सचिब र कर्मचारीहरु समेत नभएपछी नियुक्त भएका मन्त्री पनि अलमल्लमा परेका छन् । बागमती प्रदेशमा दलीय भागबण्डा मिलाउन ८ मन्त्रालयलाई विभाजन गरेर १४ वटा बनाइएको छ। ती मन्त्रालयमा ४ राज्यमन्त्रीसहित १८ मन्त्री नियुक्त गरिएको छ। राज्यमन्त्री त परको कुरा मन्त्रीहरु समेत काम बिहीन भएका छन् । बागमती प्रदेशमा ४ दलीय गठबन्धनको नेतृत्वमा सरकार बनेपछि मन्त्रालय विभाजन भएपनि चालू आवको प्रदेशको नीति तथा कार्यक्रम, योजना र बजेट भने असारमा नै आइसकेको थियो।

गठबन्धन नेतृत्वको सरकार गत कात्तिक ११ मा बनेयता प्रदेशका मन्त्रालय विभाजित बनेका हुन्। बागमती प्रदेशमा एउटै मन्त्रालयलाई विभाजन गरेर ३ वटासम्म बनाइएको छ। प्रदेशमा रहेको ७ वटा मन्त्रालयका लागि ल्याइएको बजेट र योजना अब १४ मन्त्रालयमा विभाजन गर्नुपर्ने भएको छ।

यसले गर्दा बागमती प्रदेशमा रहेका मन्त्रालयले मन्त्री पाए पनि हालसम्म काम भने पाउन सकेका छैनन्। विभाजन भएर बनेको मन्त्रालयका अधिकांश मन्त्री पनि केही दिन मन्त्रालयमा उपस्थित भएर यत्रतत्र लागेका छन्। सामाजिक विकास मन्त्रालयबाट फुटेर युवा तथा खेलकुद मन्त्रालय बनेको एक महिना पुग्न लाग्यो। तर,मन्त्रालयले अहिलेसम्म आफूले गर्ने काम, योजना तथा बजेट पाउन सकेको छैन। न त मन्त्रालयमा काम गर्नका लागि कर्मचारी नै छन्।

सामाजिक विकास मन्त्रालयबाट फुटेर बनेको युवा तथा खेलकुद मन्त्रालय हालसम्म कामको अख्तियारी नपाउँदा कामविहीन अवस्थामा छ। मन्त्रालयमा काजमा खटिएका राजेन्द्र श्रेष्ठका अनुसार हाल सो मन्त्रालयमा हाल २ जना मात्र कर्मचारी छन्। मन्त्रालय र मन्त्री बस्ने स्थानको व्यवस्थापन गर्नेबाहेक अन्य काम नै नभएको उनको भनाई छ। मन्त्रालयमा हालसम्म सचिव आइनपुगेकाले सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयले पाउनुपर्ने कामको अख्तियारी पाएको छैन। जसले गर्दा मन्त्रालयबाट कुनै काम हुन नसकेको उहाँले बताउनुभयो ।

एउटै मन्त्रालयबाट टुक्रिएर ३ वटामा विभाजित भएको श्रम, रोजगार तथा यातायात मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको पनि अवस्था उस्तै छ। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फुटेर गएका यी मन्त्रालयको कामको योजना र बजेट छुट्टाछुट्टै भएपनि हालसम्म भौतिक विकासबाट मन्त्रालयमातहत पुगेको छैन। जसले गर्दा ती मन्त्रालयमा नियुक्त भएका मन्त्री र कर्मचारी कामविहीन छन्।

मन्त्रालय मातहतबाट हुनुपर्ने काम कारबाही नरोकिएको भएपनि सम्बन्धित मन्त्रालयले अख्तियारी नपाएको हुँदा अझैसम्म फुट्नुअघिको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट नै ती काम भइरहेको मन्त्रालयको सूचना अधिकारी राजन पोखरेलले बताउनुभयो ।
‘मन्त्रालयहरू अलग अलग भएपनि मन्त्रालयको संरचना अलग अलग भएर बजेट र योजनाहरु आउनै बाँकी छ। मन्त्रीहरुको दैनिकी मन्त्रालयको योजना बुझ्ने र काम गर्न परे भौतिक मन्त्रालयको सचिवसँग समन्वय गर्ने गरेर बित्ने गरेको बताउनुभयो ।

खानेपानीको लागि यो योजना यति बजेट भनिएको हुन्छ। त्यसैगरि यातायातका लागि यति भनेर छुट्याइएको हुँदा त्यस्ता योजना र बजेट स्वतः ती मन्त्रालयमा जान गाह्रो हुँदैन। तर प्रशासनिक योजना, बजेट र कर्मचारी विभाजन गर्न भने समस्या छ’, उहाँले थप्नुभयो । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अहिले तीन मन्त्रालयमा विभाजन भएको छ। संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइएको छ। संस्कृति मन्त्रालयमा सचिब आइसकेकबा छैनन् । मुख्यमन्त्रीले मन्त्रालय फुटाइएसँगै कर्मचारीहरु अहिले सबै मन्त्रालयलाई बजेट तथा कार्यक्रम फुटाउन व्यस्त छन्।

एउटा मन्त्रालय फुटाएर तीन वटा मन्त्रालय बनाएसँगै एउटा मन्त्रालयको बजेट तथा कार्यक्रम तीनवटै मन्त्रालयका लागि बाँडफाँड गरिँदैछ। तीनवटै मन्त्रालयको मन्त्रीको पदबहाली भएसँगै अहिले सम्बन्धित योजना मन्त्रालयगत बाँडफाँड गर्न अभ्यास भइरहेको मन्त्रालयका सचिव यज्ञनाथ दाहालले बताउनुभयो । एक मन्त्रालय हुँदा आएको बजेट नै ३ वटामा बाँडफाँड हुनेछ। अबको केही दिनमै मन्त्रालयगत बजेट विनियोजन हुने उहाँको भनाइ छ।

बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेर सम्बन्धित मन्त्रालयबाटै सेवा प्रवाह गर्दा छिटो, छरितो र प्रभावकारी हुने भएकोले मन्त्रालय विभाजन गरिएको बताउँदै आएका छन्। उनले प्रदेश सरकारको नेतृत्व सम्हालेलगत्तै पूरक बजेट ल्याउने तयारी गरेको भएपनि बजेट कार्यक्रम भने अन्योलमा परेको छ। यद्यपि गठबन्धन दलबाट बनेको कार्यदलले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम भने सार्वजनिक गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*