निर्वाचन प्रक्रियामा भाग नलिने घोषणा गरेका रामचन्द्र पौडेल केन्द्रीय सदस्य बनेपछि…

जनपत्र
१८ पुष २०७८, आईतवार ०६:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनको उद्घाटनपछि सम्पूर्ण प्रक्रिया बहिष्कार गरेपनि केन्द्रीय सदस्य मनोनित भएपछि उनकै समूहका नेताहरूले प्रश्न उठाएका छन् । संस्थापनइतरको साझा सभापतिको उम्मेदवार बन्न चाहेका पौडेललाई प्रकाशमान सिंहले स्वीकार नगरेपछि उनी मैदानबाट बाहिरिएका थिए ।

सभापतिको उम्मेदवार बन्न नपाएपछि उनले महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका थिए । तर उनी सभापति शेरबहादुर देउवाबाट केन्द्रीय सदस्य मनोनित भएपछि नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पौडेलको नैतिकता र निष्ठामाथि प्रश्न उठाएका छन् ।

पौडेल १४औं महाधिवेशनमा कुनै पनि समूहमा खुलेनन् । जबकी उनी संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बन्न चाहान्थे । प्रकाशमान सिंहले उनलाई समर्थन नदिएपछि विरक्तिएका उनले कुनै समूहलाई समर्थन नगर्ने बताएका थिए । पौडेलले सभापति देउवाले पार्टीमा नीति र विचारलाई समाप्त पारेको भन्दै विरोध गर्दै आएका थिए । महाधिवेशनको पहिलो चरणको निर्वाचनको अघिल्लो दिन उनलाई सभापति शेरबहादुर देउवाले घरमै गएर भेटेका थिए ।

त्यसपछि पौडेल भृकुटीमण्डपमा भएको महाधिवेशनमा मतदान गर्न त आएनन् । तर उनले लैनचौर ब्यांकेटमा महाधिवेशन प्रतिनिधिहरूका लागि चियापान कार्यक्रम आयोजना गरेका थिए । उक्त चियापानको बिल पूर्वमहामन्त्री शशांक कोइराला निकट ठेकेदार तथा पूर्वराज्यमन्त्री दीपक खड्काले तिरेको बताइन्छ ।

शशांक कोइराला आफैं केन्द्रीय सदस्यको उम्मेदवार रहेकाले उनी पहिलो चरणको निर्वाचनमा कतै पनि खुलेका थिएनन् । तर दोस्रो चरणको निर्वाचनमा शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा समर्थन गरेका थिए ।

पौडेलले सभापति देउवाले पार्टीमा नीति र विचारलाई समाप्त पारेको साथै पार्टी कब्जा गर्न खोजेको भन्दै विरोध गर्दै आएका थिए तर रामचन्द्र पौडेलले पनि मौन रहेर शेरबहादुर देउवालाई सघाएको संस्थापनइतरका नेताको बुझाइ रहँदै आएको छ । पौडेलले आफू सभापतिको दौडबाट बाहिरिएपनि आफू सक्रिय राजनीतिबाट बाहिर नगएको बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

इकागजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*