मउवासंघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ताको नागरिकता शंकाको घेरामा,छानबिन गर्दै प्रशासन

जनपत्र
१५ पुष २०७८, बिहीबार २०:४३

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कुमार गुप्ताको नागरिकता शंकाका घेरामा रहेको भन्दै छानबिन सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गुप्ताको नागरिकता माथि छानबिन गरिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।

नेपाली राष्ट्र र राष्ट्रीयताप्रति सम्मान गर्ने देश भक्त नेपालीले गुप्ताको नागरिकता छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएका थिए ।

गुप्ता भारतीय नागरिक भएको र रौतहटबाट फर्जी नागरिकता लिएको दाबी गर्दै परेको निवेदन रौतहटसंग सम्बन्धित देखिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सो पत्र रौतहट पठाएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

गुप्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट श्रीमति कृष्ण कुमारी गुप्ता, छोरा अनिल अग्रवालको नाममा आफ्नो नाम कृष्ण कुमार गुप्ता लेखाई सनाखत गरेका छन् भने छोरी अनु अग्रवालको नागरिकतामा आफ्नो नाम कृष्ण कुमार गुप्ता लेखाई सनाखत गरेका छन् ।

सरकारी ढड्डा नै केरमेट गरी फरकफरक नाम रहेपनि दुबैमा नागरिकता नम्बर भने १८३३ उल्लेख छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २०७७–७–२८ मा निवेदन दर्ता भएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गुप्ताको नागरिकता रौतहटसंग सम्बन्धित भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटलाई पत्राचार गरेको थियो । जिल्ला प्रशासन कार्यालय रौतहटले समेत मुद्दाको प्रकृया अघि बढाएको छ ।

जिल्ला प्रशासन कार्यालयकै निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुप्तालाई तीन दिन भित्र उपस्थित हुन पत्र थमाएको थियो ।

गुप्तासंग जिल्ला प्रशासन कार्यालय रौतहटले बयान समेत लिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताए । रौतहट महमदपुर वडा नम्बर ३ ठेगाना लेखाई नागरिकता लिएका गुप्ताको नागरिकतामा पिताको नाम राम किसुन गुप्ता उल्लेख छ । यिनै रामकिसुन गुप्ताका अन्य नातेदारहरुसंग बुझेर मुद्दाको प्रकृया अघि बढ्ने पमुख जिल्ला अधिकारी शाहीले बताए । नातामा विवाद देखिए आफन्तहरुसंगको डिएन समेत परिक्षण हुनसक्ने प्रजिअ शाहीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*