मकवानपुरको सिमभञ्ज्याङ–दामन क्षेत्रमा हिमपात हुँदा अवरुद्ध त्रिभुवन राजपथ अझै खुलेन
मकवानपुर — मकवानपुरको उत्तरीक्षेत्रस्थित सिमभञ्ज्याङ–दामन क्षेत्रमा हिमपात हुँदा त्रिभुवन राजपथ दुइदिन देखि अवरुद्ध बनेको छ । त्रिभुवनराजपथ अवरुद्ध भएपछी यसक्षेत्रबाट ओहोर दोहोर गर्ने सवारीका साधनहरु चल्नका लागि समस्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आजबाट वर्षा रोकिएको र मौसम पनि अली खुलेकाले सहज हुने प्रहरीले जनाएको छ ।
मंगलबार रातिदेखि वर्षासँगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको हो । थाहा नगरको सिमभञ्ज्याङ, दामन तथा भीमफेदी गाउँपालिकाको गोलमोड, अघोर तथा झिरघारी क्षेत्रमा हिमपात भएसँगै त्रिभुवन राजपथ भएर चल्ने सवारी चल्न नसकेको थाहा नगरका मेयर लवशेर विष्टले जानकारी दिनुभयो ।
दामन क्षेत्रमा–१ फिट भन्दा बढी हिउँ जमेको र हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारीसाधनहरु रोकिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताउनुभयो । सवारी बलजफ्ती चलाउँदा दुर्घटना हुने देखिएकोले यातायात सञ्चालनमा रोक लगाएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।
‘काठमाडौंबाट आएको सवारी पालुङमै रोकिएको छ । हेटौंडबाट गएका गाडी अघोरमा रोकिएको छ । तत्काल बाटो खुल्ने सम्भावना छैन’, सापकोटाले भने । उहाँका अनुसार बिहान ६ बजेबाट सवारी रोकिएका हुन् ।