नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा आयाे

जनपत्र
१४ पुष २०७८, बुधबार १६:४६

काठमाण्डौ – नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी आज बुधवारदेखि सञ्चालनमाआएको छ ।

लाहाचोकमा १३२/३३ केभी सबस्टेशनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेशनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा बिजुली आपूर्ति गरिनेछ ।

यसबाट त्यस क्षेत्रको बिजुली आपूर्ति गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, पोखराबाट त्यस क्षेत्रमा बिजुली आपूर्तिका लागि लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भइ उपभोक्ताले भरपर्दो र गुणस्तरीय बिजुली पाउनेछन् भने चुहावटसमेत घट्नेछ ।

आयोजनाअन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इन्डियाकाे सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको आयोजनाअन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ । सन् २०१८ जुलाई २१ बाट सुरु भएको यस आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयवासीको अवरोधका साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*