पानीको हाहाकार हटाउन भिमफेदीका महिलाहरु आफै श्रमदानमा जुटे

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँ पालिका वडा नम्बर ५ र ६ का वासिन्दाहरुले बषौअघिदेखि भोग्दै आएको खानेपानीको समस्या अब हट्ने भएको छ । खानेपानी समस्या हटाउनका लागि स्थानीय महिलाहरु दिनहुँजसो श्रमदानमा जुटेका छन् । उनीहरुको श्रमदानमा भिमफेदी गाउँपालिका र गैरसरकारी संस्था सीसीडीएनले सहयोग गरेको छ ।
भिमफेदी गाउँपालिकाका वडानम्बर ५ र ६ को भिमफेदी बजार, टारगाउँ, छबेली, धुसेनी, सिमल्टार, पारी बजार क्षेत्र गरेर ३ सय १९ घरधुरीका लागि पानीका लागि बषौदेखिको समस्या अबको केही महिनामा हट्ने भएको हो ।
खानेपानीका लागि सधै पेधेरामा लाईन बस्नुपर्ने बाध्यता भोग्दै आएका यहाँका महिलाहरु पाइप तान्ने, खाल्डो खनेर गाढ्ने, पानी ट्याङ्की निर्माण गर्ने लगायतका काममा लागेको भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्बती रानाले बताउनुभयो । पानीको अभाब टार्नका लागि भिमफेदीको यो ठुलो योजना हो ।
भिमफेदी बजार क्षेत्र र आसपासका क्षेत्रमा पानी खुवाउनका लागि एक दुइ दिन होइन । यहाँका महिलाले १३ दिन सम्म श्रम गर्नुपर्ने निणय अनुसार हरेक दिन खानेपानी योजना निर्माणका लागि निस्कने गरेको उपाध्यक्ष रानाले बताउनुभयो ।
भिमफेदी ६ ठोसेघारीको मुहान बाट पानी ल्याउन लागिएको छ । करिब ५ किलोमिटर टाढाबाट भिमफेदी बजार क्षेत्रमा पानी ल्याउन लागिएको हो ।
खानेपानीका लागि एक करोड २८ लाख लागतमा निर्माण गर्न लागिएको छ । यस योजनाका लागि गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा गरी भिमफेदी गाउँपालिकाको ३८ लाख र सीसीडीएनको ९० लाख लागतमा निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
अबको तीन दिनमा मुहानबाट बजार सम्म पानी ल्याउने योजनामा स्थानीय लागिपरेका छन् । तर, पानीका धारा, घरघरमा पाइप जडान लगायतका काम भने आउँदो साउन महिना सम्म सक्ने योजना छ ।
खानेपानी योजनाबाट स्थानीय ३ सय १९ परिवार संगै भिमफेदी कारागारका ९ सय कैदी बन्दीले पनि पानीको बल्ल सुबिधा पाउने छन् । अहिले कारागारमा पानीको निकै समस्या छ । समस्या समाधान पछी कारागारमा पनि बषौअघिदेखिको पानीको समस्या हट्ने छ । यस योजनाबाट घरै पिच्छेले जनश्रमदान गर्ने सहमती अनुसार महिलाहरु दिनहुँ आफ्ना घरको काम समेत छोडर खानीका लागि लागिपरेको उनीहरुले बताएका छन् ।
२०७२ सालको भुकम्पले गर्दा पानीको धेरै समस्या स्थानीयहरुले भोगेका थिए । अब समस्या हटाउनका लागि सबै महिलाहरु एक जुट भएर लागेका हुन् । उनीहरुले खानेपानी योजना गाउँमा पार्नका लागि पनि निकै दौडधुप गरे । योजना परिसकेपछी काममा पनि आफै लागेको स्थानीय वासिन्दाहरु बताउँछन् । अहिले सम्म एक हजार जनाले श्रमदान गरिसकेका छन् । भिमफेदी बजार सम्म पानी ल्याउनका लागि साना ठुला गरी छ वटा पानी ट्याङकी निर्माण गर्न लागिएको छ ।