अरुण तेस्राेका लागि रोक्का गरिएका जग्गाको मुआब्जा दिन माग
काठमाण्डाै – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि रोक्का गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउन माग गरेको छ ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्राेको प्रसारण लाइन क्षेत्रमा पर्ने जग्गाका धनीलाई जग्गा रोक्का राखिएको अवधिको मुआब्जा उपलब्ध गराउन गाउँपालिकाले माग गरेको हो ।
२०७६ साल मंसिर १० गतेदेखि रोक्का गरिएको जग्गा प्रसारण लाइनको रुट परिवर्तनसँगै मुआब्जा निर्धारण समितिले गएको भदौमा फुकुवा गर्ने निर्णय गरेको थियो ।
अरुण तेस्राेको प्रसारण लाइनका लागि पहिला रोक्का राखेर पुन: फुकुवा गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउनका लागि गाउँपालिकाले भारत सरकार स्वामित्वको निर्माण कम्पनी एसजेभीएन समक्ष माग गर्ने निर्णय गरिसकेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।