निर्मला–नन्कुन्नी हत्या प्रकरणको यथार्थ अझै बाहिर नआउँदा शङ्का उब्जियाे : डा. भट्टराई

जनपत्र
१२ पुष २०७८, सोमबार १८:१६

काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्य/तथ्य बाहिर नआउनुले त्याे घटना सरकारकै मिलेमतोमा भएको शङ्का उब्जिएको बताउनुभएको छ ।

आज सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गएकाे मङ्सिर ९ गतेदेखि माइतीघर मण्डलामा भइरहेकाे अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरूलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शङ्कास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले आजसम्म घटनाको न्यायपूर्ण छानबिन नहुनु र सत्य/तथ्य बाहिर नआउनुले घटनामा सरकारकै मिलेमतो भएको शङ्का उब्जिएको बताउनुभयो । सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने डा. भट्टराईकाे भनाइ छ । राज्य अपराधीको पक्षमा उभिनु र नागरिकलाई शान्ति सुरक्षा नदिनु गम्भीर गल्ती भएको भन्दै उहाँले अपराधीहरूको विरुद्धमा जनमत सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति सुरक्षा कायम गर्ने, न्याय दिलाउने जिम्मेवारी राज्यको हो । त्याे घटना घटेकाे धेरै भइसक्याे । यति बेलासम्म घटनाको न्यायपूर्ण छानबिन भएर सत्य/तथ्य बाहिर नआउनु, अपराधीलाई कारबाही नगर्नुको पछाडि राज्यकै मिलेमतोमा यो भइरहेको छ कि अथवा जो अपराधीहरू छन्, तिनीहरूले राज्यको आड पाएका छन् कि भन्ने शङ्का लाग्छ । अपराधीलाई कारबाही गर्नुपर्‍याे । ठूलै पहुँचवाला मान्छेहरू छन् र तिनीहरूको विरुद्धमा जनमत सिर्जना गर्नुपर्छ र राज्यले यसरी अपराधीको पक्षमा उभिनु र जनतालाई सुरक्षा नदिनु गम्भीर गल्ती हुन्छ ।’

निर्मला र नन्कुन्नीको हत्या प्रकरणमा छानबिन समितिले पेस गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटो भन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्य/तथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरूले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन् । महिला अधिकारकर्मी रुबी खानले आफूहरू महिनौँदेखि न्यायका लागि धर्ना बसेको भए पनि सरकार आफूहरूको मागमा संवेदनशील नभएको बताउनुभयो । उहाँले महिलालाई न्याय दिने सम्बन्धमा सरकार उदासिन रहेको बताउनुभयो ।

धर्ना दिइरहेका महिला अधिकारकर्मीहरूले माग पूरा नभएसम्म कार्यक्रम जारी रहने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*