‘प्रचण्ड पछिको नेता अहिलेसम्म पार्टीभित्र देखिएकै छैन’
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन हिजोदेखि काठमाण्डौमा सुरु भएको छ । देशका ठूला तथा चर्चामा रहेका नेकपा एमाले, नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनपछि माओवादीको महाधिवेशन सुरु भएको हो ।
माओवादी पार्टीले राष्ट्रिय सम्मेलनको रुपमा २५ समूह बनाएर राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन तथा विधान प्रतिवेदनमाथि छलफल गर्ने भनेर प्रचार गरिरहँदा महाधिवेशन गर्ने निर्णय भएको हो ।
महाधिवेशनबाट पार्टीको आउँदाे योजना, रणनीति तथा कार्यदिशाका साथै नेतृत्व चयन समेत गर्ने हुँदा महाधिवेशनलाई निकै महत्त्वका साथ हेर्ने गरिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हालैको महाधिवेशनबाट आफ्नो पार्टीको नेतृत्व परिवर्तन गरी नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १४औँ महाधिवेशनमा यसअघि कुनै पदमा नरहेका शेखर कोइरालाले पार्टी सभापति रहेका देउवालाई ४० प्रतिशत मत ल्याएर कडा चुनौती दिनुभएको छ ।
यसले माओवादी पार्टीमा समेत विगत ३० वर्षदेखि नेतृत्वमा रहिरहनु भएका प्रचण्डमाथि पनि नेतृत्व हस्तान्तरणको दबाब पर्न गएको देखिन्छ । तर माओवादीमा अझै प्रचण्डको विकल्प नभएको महाधिवेशन प्रतिनिधिहरु बताउँछन् ।
कुलचन्द्र राजवंशी, झापा
पहिले भूमिगत कालमा धेरै महाधिवेशन भएको थियो । पार्टी संसदीय व्यवस्थामा आएदेखि महाधिवेशन भएको थिएन । त्यसकारण यो अधिवेशन गर्न लागिएको हो ।
राष्ट्रिय सम्मेलन भने पनि राष्ट्रको प्रतिनिधि भेला भएका छन् । तलबाट आउने प्रतिनिधिहरु नै भेला हुने हुन् । राष्ट्रिय सम्मेलन र महाधिवेशन एउटै शब्द हो । महा भनेका कारण अलि भयङ्कर भनेको होला नत्र अरु त उस्तै नै हो ।
यतिखेर पार्टी सङ्कटमा परेको छ । पार्टी सङ्कटमा परेका कारण प्रचण्डले नै पार्टीको अध्यक्षता गर्नुपर्छ । उहाँ नै प्रमुख हुनुपर्छ । आम कार्यकर्तामा दुई–चार जना होलान् तर, प्रत्येकको मनमा प्रचण्ड नै अध्यक्ष हुनुपर्छ भन्ने भावना सबैको मनमा छ । अहिलेको अवस्थामा यो सङ्कटमा कताकता पार्टी कमजोर भएको अवस्थामा प्रचण्ड नै चाहिन्छ ।
सुदर्शन सत्याल, काभ्रे
स्थायी कमिटीबाट निर्णय भए अनुसार यसलाई महाधिवेशन भनेर नियम सङ्गत जानुपर्ने भएर यसलाई महाधिवेशन भनिएको हो । नियम सङ्गत जानुपर्ने तथा कानुनी प्रतिबन्धमा बाँधिएका कारण यसलाई आठौँ महाधिवेशन भनियो ।
विचारको हिसाबले पनि सबै हिसाबले पनि अरुमा पनि नयाँ नेतृत्व भयो यसमा पनि नयाँ नेतृत्व आओस् भन्नु स्वाभाविक हो । तर, प्रचण्ड पछिको नेता अहिलेसम्म पार्टीभित्र देखिएकै छैन ।
आन्दोलन तथा अन्य कुराले गर्दा पार्टीभित्र प्रचण्ड बाहेक नेतृत्व गर्ने अरु देखिएको छैन । अधिवेशन भनिएको छ । अर्को व्यक्ति उठ्न चाहिँदा पनि खुलै छ।