ब्याट्री फेर्नै २६ लाख लाग्ने भएपछि फिनले ३० केजी बारुदमा यसरी उडाइदिए टेस्लाको कार (भिडियो सहित)
ब्याट्री फेर्न २२ हजार अमेरिकी डलर अर्थात् करिब २६ लाख ४० हजार रुपैयाँ खर्च हुने भएपछि फिनल्यान्डका एकजना टेस्ला मोडेल एस धनीले कारलाई नै बारुदले उडाइदिएका छन् । इलेक्ट्रिक कार अथवा टेस्लाका सवारीको ब्याट्री परिवर्तन गर्न वास्तवमै कति खर्च लाग्छ भन्ने स्पस्ट जानकारी त छैन ।
किन भने अधिकांश टेस्ला कारको ब्याट्री वारेन्टी अवधिभित्रै परिवर्तन गरिएका छन् । कम्पनीले मोडेल एस र मोडेल एक्सका लागि आठ वर्षको माइलेज वारेन्टी उपलब्ध गराउँदै आएको छ । सन् २०१२ मा मोडेल एसको उत्पादन सुरु भएको थियो र २०१४ मा त्यति धेरै युनिट उत्पादन समेत भएका थिएनन् । पछिल्ला वर्षहरूमा मात्रै पावरट्रेन वारेन्टीका साथ टेस्लाका सवारी आउन थालेका हुन् ।
ब्याट्री प्याक रिप्लेसमेन्टका लागि २० हजार देखि ३० हजार अमेरिकी डलर खर्च हुने बताइन्छ । यो निकै धेरै रकम हो । तर खुशीको खबर के छ भने टेस्लाको ब्याट्री प्याक लामो समयसम्म टिकाउ हुने गर्छन् । यदि ब्याट्री चाँडो सकिने समस्या छैन भने पनि ब्याट्री प्याक कहिलेकाहीँ असफल हुने गरेको छ । जसले गर्दा चाँडै ब्याट्री प्याक रिप्लेस गर्नु परेको खन्डमा निकै महँगो हुने गर्छ ।
हालै मात्र टेस्लाले एक जना मोडेल एस धनीलाई ब्याट्री रिप्लेसमेन्टका लागि २२ हजार ५०० डलर लाख्ने बताएको थियो । करिब कारको मूल्य बराबर नै ब्याट्री रिप्लेसमेन्टमा लाग्ने भएपछि त्यसको कुनै अर्थ हुने देखिँदैन । यद्यपि ती व्यक्तिले थर्डपार्टी रिपेयर पसलबाट ब्याट्री प्याक समाधान गराएका थिए । त्यसैले ब्याट्री प्याक परिवर्तनको विषय टेस्ला कार धनीहरूबीच विवादको विषय बन्दै आएको छ ।
अहिले फिनल्यान्डबाट करिब त्यस्तै दृष्टान्त दोहोरिएको छ । टुमस काटेइन २०१३ टेस्ला मोडेल एसका धनी हुन् । उनको ब्याट्री प्याकको वारेन्टी समाप्त भइसकेको थियो । त्यसको रिप्लेसमेन्टका लागि टेस्लाले उनीसँग २२ हजार अमेरिकी डलर लाग्ने बताएको थियो ।
काटेइनले त्यति धेरै खर्च गरेर २०१३ मोडेल एसको ब्याट्री प्याक परिवर्तन गर्नुमा कुनै औचित्य देखेनन् । न त उनले त्यसको समाधानका लागि कुनै थर्डपार्टी पसल नै फेला पार्न सके । वास्तवमा यस्तो अवस्थामा के नै विकल्प हुन्छ र रु
तपाईंले प्रयोग भइसकेका ब्याट्रीप्याक खोज्नुहोला । अथवा काम नलाग्ने अवस्थाको कारको रुपमा त्यसलाई बिक्री गर्न सक्नुहोला वा भनौँ कुनै पाटपुर्जाका लागि त्यसलाई बिक्री गर्नुहोला । तर काटेइनले फरक तरिका अपनाए ।
उनी एक जना युट्युवर कहाँ पुगे । जुन च्यानल प्रज्वलनशील तथा बिस्फोटक वस्तुका लागि चिनिन्छ । त्यसपछि ३० केजी बारुद जम्मा पारेर विद्युतीय गाडीलाई नै बिस्फोट गराइदिए ।
एकदमै महँगो ब्याट्री रिप्लेसमेन्टका लागि यो एउटा उपाय जस्तो सुनिन्छ । तर उनीहरूले बिस्फोट गराउनु अघि ब्याट्रीबाट काम नलाग्ने भइसकेको ब्याट्री प्याक र इलेक्ट्रिक मोटर महँगा पाटपुर्जा झिकिसकेका थिए । टेकपानाबाट