कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक भएको सङ्केत
काठमाण्डाै – बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक रहेको पाइएको छ । सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको अध्ययनमा देखिएको हो ।
प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमण भएका ३० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको बीबीसीले उल्लेख गरेको छ ।
तर ‘ओमिक्रोन’ सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ । पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा. जीम म्याकमेनानिनले यो एउटा सुखद समाचार भएको बताउनुभएको छ ।
दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ‘ओमिक्रोन’को लहर कम खतराको भएको देखाएको छ । ‘ओमिक्रोन’ कम घातक हुनुका कारण यसको बनोट र खोप वा सङ्क्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ । तर स्वास्थ्यका मापदण्ड पालनामा लापर्बाही गर्न नहुनेमा विज्ञले जोड दिएका छन् ।