बागमती प्रदेशसभाको बैठकमा एमाले अनुपस्थित
मकवानपुर — वाग्मती प्रदेशसभाको बैठकमा नेकपा एमालेका सांसदहरु अनुपस्थित भएका छन् । वाग्मती प्रदेशसभाको सभामुख श्रेष्ठ र मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच सदनमा जवाफ दिने विषयमा छलफल भएसँगै प्रदेशसभाको बैठक बोलाइएको थियो । तर, यस बैठकमा एमाले सांसदहरु अनुपस्थित भएका हुन् । सदनमा अहिले विपक्षी दलकोरुपमा विवेकशील साझामात्र रहेको छ ।
प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती पेस गरेका थिए । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिएका थिए ।
४ बजे सुरु भएको प्रदेशसभाको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएका हुन् । विपक्षी दल नेकपा एमाले सदनमा उठाएको प्रश्नको जवाफ सत्तापक्षले नदिएकोभन्दै बिहीबार बिहान ११ बजे बसेको बैठकमा नेकपा एमालेले अवरोध सिर्जना गरेको थियो । विपक्षीको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठ अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रदेशसभा सचिवालयले दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । उक्त बैठक दुईघण्टा ढिला गरी सुरु भएको हो । इकान्तिपुरबाट ।